काठमाडौं। एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा नेपालले हङकङलाई पराजित गर्दै अपराजित रहँदै उपाधि जितेको छ।
सिंगापुरको सिंगा ओभलमा सोमबार सम्पन्न फाइनल खेल वर्षाले प्रभावित भएपछि डकवर्थ–लुइस (DLS) विधिका आधारमा नेपाल १९ रनले विजयी भएको हो। हङकङले दिएको १८८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ११.३ ओभरमा २ विकेट गुमाएर ११४ रन बनाएको अवस्थामा भारी वर्षाका कारण खेल रोकिएको थियो।
नेपालका लागि ओपनर कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गर्दै ४० बलमा ८ चौका र ३ छक्कासहित ६५ रनको इनिङ खेले। अर्का ओपनर आसिफ शेख शून्य रनमा आउट भए। दोस्रो विकेटका लागि कुशल भुर्तेल र रोहित पौडेलले ४६ बलमा ६३ रनको साझेदारी गरेका थिए। रोहित पौडेल २४ बलमा ३५ रन बनाएर आउट भए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८८ रनको प्रतिस्पर्धात्मक योगफल तयार गरेको थियो।
हङकङका लागि अंशुमन रथले ४५ बलमा ६ चौका र ६ छक्कासहित ८० रनको आक्रामक इनिङ खेले। चौथो विकेटका लागि उनले वासिफसँग ३९ बलमा ८४ रनको साझेदारी गरे। वासिफले २८ बलमा ५५ रनको योगदान दिए।
नेपालका लागि बलिङतर्फ शेर मल्लले ४ ओभरमा ३२ रन खर्चेर ४ विकेट लिए। करण केसीले २ विकेट र सन्दीप लामिछानेले १ विकेट लिए।
यस जितसँगै नेपालले प्रतियोगितामा अपराजित रहँदै उपाधि आफ्नो नाममा गरेको हो।
आर्थिकन्यूज
प्रतिक्रिया