काठमाडौं । तार, केबल तथा कन्डक्टर उत्पादक लिटमस इन्डस्ट्रिज लिमिटेड ‘भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ का रूपमा सम्मानित भएको छ।
नेपाल उद्योग परिसंघ (सिएनआई) को २३औँ वार्षिक साधारणसभाका अवसरमा परिसंघका सदस्य उद्योगहरूमध्ये भारतमा सर्वाधिक निर्यात गर्ने उद्योगको रूपमा कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो।
कम्पनीले प्राप्त सम्मानलाई गुणस्तर, नवप्रवर्तन र उत्पादन उत्कृष्टताप्रतिको आफ्नो प्रतिबद्धताको कदरका रूपमा लिएको जनाएको छ। लिटमसले नेपालको औद्योगिक क्षमता विस्तार, निर्यात प्रवर्द्धन तथा राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउँदै आएको उल्लेख गरेको छ।
लिटमस नेपालकै सबैभन्दा ठूलो तार, केबल तथा कन्डक्टर उत्पादक उद्योग हो। कम्पनीले नेपालमा एल्युमिनियम तथा एल्युमिनियम अलोय (एएल) रड उत्पादन गर्ने एकमात्र उद्योगका रूपमा पनि आफ्नो पहिचान बनाएको छ। कम्पनीका उत्पादनले ऊर्जा, पूर्वाधार तथा निर्माण क्षेत्रका विभिन्न परियोजनाको आवश्यकता पूरा गर्नुका साथै निर्यातमार्फत विदेशी मुद्रा आर्जनमा योगदान दिँदै आएका छन्।
कम्पनीका अनुसार यसले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा हजारौंलाई रोजगारी दिएको छ भने आयात प्रतिस्थापन र सहायक उद्योगहरूको विकासमा पनि योगदान पुर्याएको छ। उत्पादन क्षमता विस्तार, प्रविधि आधुनिकीकरण र दक्ष जनशक्ति विकासमा निरन्तर लगानी गरिरहेको कम्पनीको दाबी छ।
लिटमसका प्रमुख सञ्चालन अधिकृत प्रकाश काफ्ले ले उक्त सम्मान कम्पनीका कर्मचारीहरूको समर्पण र मेहनतको प्रतिफल भएको बताए। उनले अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको उपस्थिति अझ सुदृढ गर्दै निर्यात विस्तारमा कम्पनीले निरन्तर काम गर्ने बताए।
कम्पनीले आगामी दिनमा उत्पादन क्षमता वृद्धि, प्रविधि विकास र गुणस्तर अभिवृद्धिमा थप लगानी गर्दै प्रतिस्पर्धी तथा आत्मनिर्भर औद्योगिक नेपालको निर्माणमा योगदान पुर्याउने प्रतिबद्धता जनाएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया