शीर्षकहरू

नेपालमा उबरको औपचारिक प्रवेश, काठमाडौंमा बाइक र कार सेवा सुरु

नेपालमा उबरको औपचारिक प्रवेश, काठमाडौंमा बाइक र कार सेवा सुरु

काठमाडौं । विश्वव्यापी राइड–सेयरिङ कम्पनी उबरले नेपालमा आफ्नो औपचारिक सेवा सुरु गरेको छ। कम्पनीले शुक्रबार नेपाललाई दक्षिण एसियामा एक दशकयताको पहिलो नयाँ बजारका रूपमा थप्दै काठमाडौंमा सेवा सञ्चालनमा ल्याएको घोषणा गरेको हो।

उबरका अनुसार नेपाल एशिया–प्रशान्त (एपीएसी) क्षेत्रको ११औँ बजार बनेको छ। कम्पनीले प्रारम्भिक चरणमा काठमाडौं उपत्यकामा चारपाङ्ग्रे सवारीअन्तर्गत ‘उबर गो’ र ‘उबर कम्फर्ट’ तथा दुईपाङ्ग्रे सवारीअन्तर्गत ‘उबर बाइक’ सेवा उपलब्ध गराएको जनाएको छ।

उबरका एशिया–प्रशान्त क्षेत्रीय महाप्रबन्धक डोमिनिक टेलर ले नेपाललाई तीव्र रूपमा डिजिटल रूपान्तरण भइरहेको, शहरी यातायातको आवश्यकता बढिरहेको र पर्यटन क्षेत्र विस्तार भइरहेको सम्भावनायुक्त बजारका रूपमा व्याख्या गरे। उनका अनुसार नेपालमा उबरको प्रवेश कम्पनीको दक्षिण एसिया विस्तार रणनीतिको महत्वपूर्ण उपलब्धि हो।

कम्पनीले जारी गरेको विज्ञप्तिमा नेपाल उबरको विश्वव्यापी मोबिलिटी नेटवर्कको महत्वपूर्ण हिस्सा बनेको उल्लेख गर्दै यात्रु, चालक साझेदार तथा पर्यटकलाई सुरक्षित, सहज र भरपर्दो यातायात सेवा उपलब्ध गराउने लक्ष्य रहेको जनाएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौला ले उबरको आगमनले नेपालको पर्यटन क्षेत्रलाई थप बल पुग्ने विश्वास व्यक्त गरे। उनले अन्तर्राष्ट्रिय पर्यटक र स्वदेशी यात्रुका लागि सहज यातायात पहुँच विस्तार गर्न यसले योगदान पुर्‍याउने बताए।

त्यस्तै, पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिक्देलले उबरको प्रवेशले नेपालको डिजिटल पूर्वाधार र आर्थिक सम्भावनामाथिको अन्तर्राष्ट्रिय विश्वासलाई झल्काउने बताए। उनका अनुसार स्मार्ट मोबिलिटी सेवाले शहरी यातायात व्यवस्थापन, रोजगारी सिर्जना तथा पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्न सक्छ।

कम्पनीले नेपालमा स्मार्टफोन प्रयोगकर्ताको संख्या बढ्दै जानु, तीव्र शहरीकरण, पर्यटन गतिविधिको विस्तार तथा प्रविधिमा आधारित यातायात सेवाप्रतिको बढ्दो मागलाई ध्यानमा राख्दै सेवा विस्तार गरेको जनाएको छ।

सन् २०१० मा स्थापना भएको उबर हाल विश्वका ७० भन्दा बढी देशमा सञ्चालनमा छ। कम्पनीका अनुसार हालसम्म विश्वभर ७५ अर्बभन्दा बढी यात्रामा उबर प्लेटफर्म प्रयोग भइसकेको छ। नेपालमा सेवा शुभारम्भसँगै प्रविधिमा आधारित यातायात सेवाको प्रतिस्पर्धा थप तीव्र हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया