काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु पुर्याउन र लिन आउने सवारीसाधनका लागि ‘पिक एण्ड ड्रप’ गर्दा १५ मिनेटसम्म पार्किङ शुल्क नलाग्ने व्यवस्था गरिएको छ।
विमानस्थल कार्यालयले यात्रु व्यवस्थापनलाई सहज बनाउन र सवारी चापलाई ध्यानमा राख्दै उक्त समय सीमा बढाउने निर्णय गरेको हो। यसअघि सात मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था थियो।
विमानस्थल कार्यालयका प्रवक्ता सञ्जय कुमारका अनुसार हाल परीक्षणका रूपमा एक महिनाका लागि १५ मिनेटसम्म पार्किङ शुल्क नलाग्ने व्यवस्था लागू गरिएको हो। उक्त समयभित्र यात्रु छोड्ने वा लिन आउने सवारीसाधनले कुनै शुल्क तिर्नु नपर्नेछ।
उनका अनुसार पुरानो व्यवस्था यात्रु चापका कारण अपुग भएपछि समय सीमा विस्तार गरिएको हो। नयाँ व्यवस्थाले विमानस्थलको प्रवेश र निस्कने प्रक्रियालाई अझ सहज बनाउने अपेक्षा गरिएको छ।
कार्यालयले तोकिएको समयभन्दा बढी सवारी राख्ने वा नियम उल्लङ्घन गर्ने सवारीसाधनबाट भने नियमानुसार पार्किङ शुल्क लिइने जनाएको छ। साथै, नयाँ व्यवस्थाको विपरीत शुल्क असुल गर्ने कार्य भएमा कारबाही हुने चेतावनी पनि दिइएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया