काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक लगातार दोस्रो दिन घटेर बन्द भएको छ। अघिल्लो दिनको गिरावटलाई निरन्तरता दिँदै शुक्रबार बजार ११.३७ अंकले घटेर २७५५.४१ विन्दुमा झरेको हो। समग्र सूचकहरू घटे पनि बजारको कारोबार रकम भने बढेको देखिएको छ।
बिहीबार ४ अर्ब ७० करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा शुक्रबार ३५१ कम्पनीका १ करोड २७ लाखभन्दा बढी कित्ता सेयर ५ अर्ब ६२ करोड रुपैयाँभन्दा बढीमा किनबेच भएको हो। कुल ५५ हजारभन्दा बढी कारोबार भएको नेप्सेले जनाएको छ।
१३ उपसमूहमध्ये चार उपसमूहको परिसूचक बढ्दा नौ उपसमूहमा गिरावट आएको छ। वित्त उपसमूह सबैभन्दा बढी २.७७ प्रतिशतले बढेको छ भने होटल तथा पर्यटन, म्युचुअल फन्ड र निर्जीवन बीमा उपसमूहमा सामान्य वृद्धि देखिएको छ।
यस दिन विशेषगरी केही कम्पनीहरूको सेयरमा उल्लेख्य उतारचढाव देखिएको छ। कालिञ्चोक हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुँदै ९८ रुपैयाँ ८० पैसाले बढेर ७५७ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य साढे ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ, जसको मात्र एक दिनमै ५५ करोड ६९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। सिटि होटल र एनबीबीएल डिबेन्चर २०८५ पनि उच्च कारोबार हुने सूचीमा परेका छन्।
आर्थिकन्यूज
प्रतिक्रिया