शीर्षकहरू

बिदा सकिएपछि बेपत्ता कर्मचारी खोज्दै सरकार, अभिलेख अद्यावधिक गर्न तीन दिनको अल्टिमेटम

बिदा सकिएपछि बेपत्ता कर्मचारी खोज्दै सरकार, अभिलेख अद्यावधिक गर्न तीन दिनको अल्टिमेटम

काठमाडौं। अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही निजामती कर्मचारी बिदा अवधि समाप्त भए पनि कार्यालयमा हाजिर नभएको र लामो समयदेखि सम्पर्कविहीन रहेको गुनासोपछि सरकारले अभिलेख अद्यावधिक गर्न निर्देशन जारी गरेको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यस्तो समस्या देखिएपछि सूचना जारी गर्दै सम्बन्धित कर्मचारीलाई तीन दिनभित्र राष्ट्रिय किताबखाना (निजामती) मा आफ्नो व्यक्तिगत तथा सेवा अभिलेख अनिवार्य रूपमा अद्यावधिक गर्न निर्देशन दिएको छ।

मन्त्रालयका अनुसार अध्ययन बिदा तथा असाधारण बिदासम्बन्धी विवरण राष्ट्रिय किताबखाना (निजामती) मा अद्यावधिक नभएका कर्मचारीहरूले सूचना प्रकाशित भएको मितिबाट तीन दिनभित्र अभिलेख मिलाउनुपर्नेछ।

त्यसैगरी सबै मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीय कार्यालयहरूलाई पनि आफ्ना निकायअन्तर्गत अध्ययन वा असाधारण बिदामा गएका कर्मचारीहरूको विवरण यकिन गर्न भनिएको छ। बिदा अवधि समाप्त भएपछिको हाजिरी अवस्था तथा अन्य विवरण राष्ट्रिय किताबखानासँग समन्वय गरी अद्यावधिक गर्न निर्देशन दिइएको छ।

मन्त्रालयले बिदा सकिएपछि पनि कार्यालयमा हाजिर नभएका वा लामो समयदेखि सम्पर्कमा नरहेका कर्मचारीको हकमा प्रचलित कानुनअनुसार आवश्यक कारबाही अघि बढाइने चेतावनीसमेत दिएको छ।

सरकारले निजामती सेवामा अभिलेख व्यवस्थापनलाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन तथा कर्मचारीको वास्तविक अवस्थाबारे स्पष्ट तथ्याङ्क सुनिश्चित गर्न यस्तो कदम चालिएको जनाएको छ।

null

प्रतिक्रिया