शीर्षकहरू

भ्रष्टाचार नियन्त्रणका लागि दण्ड मात्र होइन, अनुकूल प्रणाली पनि आवश्यक : गगन थापा

भ्रष्टाचार नियन्त्रणका लागि दण्ड मात्र होइन, अनुकूल प्रणाली पनि आवश्यक : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले भ्रष्टाचार नियन्त्रणका लागि कडा कानुनी कारबाही मात्र पर्याप्त नहुने बताएका छन् ।

ग्रिन टेबल श्रृङ्खलाको छैटौँ कार्यक्रम ‘सिफारिसदेखि न्यायसम्मः कसरी हुन सक्छ प्रभावकारी कार्यान्वयन ?’ मा बोल्दै थापाले भ्रष्टाचार नियन्त्रणका लागि दण्ड र जरिवानासँगै उपयुक्त ‘इको सिस्टम’ निर्माण आवश्यक रहेको बताए ।

उनले सिभिल सर्भिसमा कार्यरत कर्मचारीहरूको जीवन सहज, सुरक्षित र चिन्तामुक्त बनाउन सके भ्रष्टाचार न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गर्न सकिने धारणा राखे

‘भ्रष्टाचारजस्ता विषयहरूको नियन्त्रण दण्ड–जरिवानाको कारणले मात्र सम्भव हुँदैन। यसको लागि इको सिस्टम पनि चाहिन्छ,’ उनले भने, ‘सिभिल सर्भिसमा काम गर्ने कर्मचारीहरूको जीवन अत्यन्त सहज र सुरक्षित बनाइएको छ । करिब ९० प्रतिशत मानिसहरूले घर, शिक्षा, स्वास्थ्यलगायत आधारभूत आवश्यकताबारे चिन्ता गर्न नपर्ने अवस्था सिर्जना गर्न सकियो भने भ्रष्टाचार नियन्त्रण सम्भव हुन्छ ।’

थापाले भ्रष्टाचार नियन्त्रणका लागि कानुनी कारबाहीसँगै कर्मचारीमैत्री र उत्तरदायी प्रणाली विकास गर्नुपर्नेमा जोड दिए । उनले इको सिस्टम र कानुनी व्यवस्थालाई सँगसँगै अघि बढाएर मात्रै सुशासन र पारदर्शिता कायम गर्न सकिने बताए ।

उनका अनुसार भ्रष्टाचार नियन्त्रणका लागि केवल कडा कानुन र कारबाहीको प्रक्रियामा निर्भर रहनुभन्दा संस्थागत सुधार र कर्मचारीहरूको जीवनस्तर उकास्ने नीतिलाई पनि समान महत्व दिन आवश्यक छ । उनले भने, ‘हामीले खाली कडा कानुनको कारवाहीको प्रक्रियाबाट मात्र यसलाई नियन्त्रण गर्न सक्दैनौं ।’

प्रतिक्रिया