शीर्षकहरू

सिध्याउँदै छ चौधरी समूहले आफ्नै पार्टनरलाई

सिध्याउँदै छ चौधरी समूहले आफ्नै पार्टनरलाई

काठमाडौं । एक वर्ष अघिसम्म राम्रो व्यापार गरिरहेको सम्राट सिमेन्टको उत्पादन गत साउनदेखि ठप्प छ । व्यापार नभएर यो सिमेन्टको उत्पादन रोकिएको भने होइन । बरु, कम्पनीका मालिकले नै उत्पादन बन्द गरेर कम्पनीलाई ठूलो नोक्सानमा पुर्‍याउने कुत्सित योजना बनाउँदा उद्योग बन्द भएको हो । 

दाङमा प्लान्ट रहेको सम्राट सिमेन्टले सात वटा ब्रान्डमा आफ्नो उत्पादन बेच्छ । सम्राट सिमेन्ट कम्पनीका गजराज, गजराज प्रिमियम, बाज, बाज प्रिमियम, बादशाह, सम्राट र सम्राट प्रिमियम ब्रान्डमा सिमेन्ट उत्पादन गर्दै आइरहेको थियो । गजराज, बाज, बादशाह र सम्राट पीपीसी ब्रान्ड हुन् भने गजराज प्रिमियम, बाज प्रिमियम र सम्राट प्रिमियम ओपीसी ब्रान्डका सिमेन्ट हुन् ।

यी ब्रान्ड बजारमा स्थापित छन् । स्रोतका अनुसार उपभोक्ताको रोजाइमा परेका हुनाले यो सीमित कम्पनीले राम्रै व्यापार पनि गर्दै आइरहेको थियो । कम्पनीले गत वर्ष २०२१/०२२ मा ४ अर्ब ८७ करोड ५० लाख रुपैयाँको कारोबार गरेको रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले उल्लेख गरेको थियो । कोरोना काल अर्थात् त्यो भन्दा अघिल्लो आर्थिक वर्ष २०२०/०२१ मा पनि कम्पनीले ३ अर्ब ७० करोड ४० लाख रुपैयाँ र २०१९/२० मा २ अर्ब ११ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले सन् २०२२ जुलाईमा सिमेन्टको उत्पादन क्षमता दैनिक १८ सय टनबाट बढाएर ५४ सय टन पुर्‍याएको छ । यसको क्लिंकर उत्पादन क्षमता भने दैनिक ४ हजार टन रहेको छ । तर, गएको साउनदेखि भने उत्पादन बन्द गरेर पाल्पादेखि क्लिंकर समेत किन्ने गरेको छ ।  

कम्पनीले सुरुवाती चरणमा कुल १० अर्ब १३ करोड २० लाख रुपैयाँ अनुमानित लागतमा क्षमता विस्तार गर्ने बताइएको थियो । तर, उपकरणको मूल्यका साथै अन्य खर्च महँगिँदा १३ अर्ब १२ करोड ८० लाख रुपैयाँ पुगेको थियो । कम्पनीले १ अर्ब रुपैयाँ ‘वेस्ट हिट रिकभरी प्लान्ट’मा खर्चिएको थियो ।  

यो कम्पनीमा चौधरी समूहका निर्वाण चौधरी र वरुण चौधरी निर्देशक छन् । यस्तै, कम्पनीको अध्यक्ष अनिल कुमार रुंगाटा र प्रबन्ध निर्देशक वासुदेव पाण्डे छन् । यसमा वासुदेव पाण्डे समूहको ४५ प्रतिशत शेयर रहेको छ भने अनिल रुगाटा, विशाल कटवारी र चौधरी समूहको गरी ५५ प्रतिशत शेयर रहेको छ ।

सम्राट् सिमेन्ट सम्बद्ध स्रोतका अनुसार गत साउनदेखि सिमेन्ट उत्पादन नगरी कम्पनीलाई घाटामा परेको देखाएर त्यसको शेयर कम मूल्यमा खरिद गर्न रुगांटा समूह र चौधरी समूह लागेको छ । ४५ प्रतिशतको शेयर रहेका पाण्डे समूहलाई कम्पनी घाटामा गएको देखाएर कम्पनीको शेयर ५० प्रतिशतभन्दा कम मूल्यमा खरिद गर्ने योजनामा सो पक्ष लागेको कम्पनी स्रोतले जनाएको छ । एक वर्षदेखि कम्पनीले सेयर धनीलाई लाभांश पनि वितरण गरेको छैन भने सम्राट् सिमेन्ट उद्योगका अधिकांश उत्पादन बन्द गरेर सबै जनशक्ति समेत पाल्पा सिमेन्टमा सारिएका छन् ।

अध्यक्ष अनिल रुगाटा र चौधरी समूहका अध्यक्ष विनोद चौधरी नेपाली काँग्रेसका नेता भएकाले राजनीतिका पहुँच र प्रभाव समेत प्रयोग गरेर  अन्य सेयर धनीलाई पेलेर जाने गरेको बताइन्छ । एक बोर्ड सदस्यले भने, ‘सञ्चालक समितिको बैठकमा अन्य सेयर धनीको कुरा नसुन्ने र अध्यक्षले एकलौटी काम गर्ने गरेकाले कम्पनी घाटामा गएको हो। योजनाबद्ध रुपमा कम्पनीलाई घाटामा लगिंदैछ जसको एक मात्र उद्देश्य भनेको कौडीको मूल्यमा कम्पनी हडप्ने मात्र हो। ’