शीर्षकहरू

मूल्य समायोजनपछि पनि १.२१ प्रतिशत घट्यो सगरमाथा इन्स्योरेन्सको शेयरमूल्य

मूल्य समायोजनपछि पनि १.२१ प्रतिशत घट्यो सगरमाथा इन्स्योरेन्सको शेयरमूल्य

काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीले प्रस्ताव गरेको ११ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । 

कम्पनीको बुधवार कायम अन्तिम मूल्य रू. १ हजार ५५४ को आधारमा ११ प्रतिशत बोनसपछिको मूल्य नेप्सेले रू. १ हजार ४०० तोकेको हो । समायोजन पछिको सोही मूल्यको आधारमा कम्पनीको शेयर कारोबार खुला भएको थियो । 

समायोजनपछि पनि यो दिन कम्पनीको शेयरमूल्य १ दशमलव २१ प्रतिशत अर्थात प्रतिकित्ता रू. १७ ले घटेर अन्तिम मूल्य रू. १ हजार ३८३ कायम भएको छ । यो दिन कम्पनीको शेयरमुल्य रू. १ हजार ४४० सम्म पुगेको थियो भने रू. १ हजार ३८० सम्म झरेको थियो । 

यस दिन कम्पनीको रू. ३० करोड ७२ लाख ४९ हजार बराबरको १ लाख ८५ हजार ६९८ कित्ता शेयर कारोबार भएको छ । कम्पनीले यस वर्ष बोनससँगै कर प्रयोजनका लागि शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव समेत गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १२ लाख २३ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।

उक्त लाभांश प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारितका लागि असार ३० गते २४औं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको प्रधान कार्यालय नक्साल, काठमाडौंमा विहान ११ बजे सभा बोलाएको हो । उक्त सभा प्रयोजनका लागि असार १७ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेकाले नेप्सेले बोनस पछिको मूल्य तोकेको हो । असार १७ गतेदेखि यस कम्पनीको शेयर खरिद गर्नेहरुले प्रस्तावित लाभांश प्राप्त गर्नेछैनन् । 
 

प्रतिक्रिया