शीर्षकहरू

शान्ति सम्झौताको अन्तिम चरणमा अमेरिका र इरान, पाकिस्तानद्वारा पुष्टि

२४ घण्टाभित्र अमेरिका–इरान सम्झौता हुन सक्ने दाबी, पाकिस्तानले भन्यो– ‘शान्ति पहिलेभन्दा नजिक’

शान्ति सम्झौताको अन्तिम चरणमा अमेरिका र इरान, पाकिस्तानद्वारा पुष्टि

काठमाडौं । अमेरिका र इरानबीच महिनौँदेखि जारी तनाव र द्वन्द्व अन्त्य गर्ने उद्देश्यसहित भइरहेको वार्ता निर्णायक चरणमा पुगेको छ। प्रमुख मध्यस्थकर्ताको भूमिका निभाइरहेको पाकिस्तानले आगामी २४ घण्टाभित्र शान्ति सम्झौता अन्तिम रूप पाउन सक्ने जनाएको छ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले सामाजिक सञ्जाल एक्समार्फत अमेरिका र इरानबीच शान्ति सम्झौताको रूपरेखामा सहमति जुटिसकेको र अन्तिम पाठ तयार भएको दाबी गरेका छन्। उनका अनुसार सम्झौतामा इलेक्ट्रोनिक हस्ताक्षरको तयारी भइरहेको छ र त्यसपछि प्राविधिक तहका वार्ता अगाडि बढाइनेछ।

शरिफले “शान्ति अहिले जति नजिक कहिल्यै थिएन” भन्दै दुवै पक्ष स्थायी समाधानतर्फ अघि बढिरहेको बताएका छन्।

यद्यपि पाकिस्तानले सम्झौता छिट्टै टुंगिने संकेत गरे पनि इरानले भने हस्ताक्षरको मितिबारे सावधानी अपनाएको छ। इरानी विदेश मन्त्रालयले सम्झौता नजिक पुगेको स्वीकार गरे पनि आइतबार नै हस्ताक्षर हुने दाबीलाई पुष्टि नगरेको जनाएको छ।

इरानी विदेशमन्त्री अब्बास अराघचीले सम्झौताबारे विभिन्न सञ्चारमाध्यममा आएका विवरणप्रति टिप्पणी गर्दै अन्तिम निर्णय नभएसम्म अनुमानमा नलाग्न आग्रह गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि वार्ता सकारात्मक दिशामा अघि बढिरहेको संकेत दिएका छन्। उनले सम्झौताका अधिकांश विषयमा सहमति भइसकेको र अब केही प्राविधिक तथा कागजी प्रक्रिया मात्रै बाँकी रहेको बताएका छन्।

अन्तिम दस्तावेज सार्वजनिक नभए पनि वार्तामा स्ट्रेट अफ होर्मुज पुनः पूर्ण रूपमा सञ्चालन गर्ने, इरानमाथिका केही प्रतिबन्ध खुकुलो बनाउने, रोक्का सम्पत्तिमा पहुँच दिने तथा आणविक कार्यक्रमबारे थप वार्ताको ढोका खुला राख्ने विषय समेटिएको बताइएको छ।

स्ट्रेट अफ होर्मुज विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग भएकाले सम्भावित सम्झौताले अन्तर्राष्ट्रिय तेल बजार र विश्व अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ।

प्रतिक्रिया