काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा सुरुङमार्ग विकासलाई प्राथमिकतामा राख्दै निर्माणाधीन तथा प्रस्तावित सुरुङमार्ग योजनाका लागि करिब ६७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रमअनुसार एक दर्जनभन्दा बढी सुरुङमार्गको निर्माण तथा सम्भाव्यता अध्ययनका लागि बजेट छुट्याइएको हो।
सबैभन्दा ठूलो हिस्सा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग ले पाएको छ। मन्त्रालयले उक्त राष्ट्रिय गौरवको आयोजनाको निर्माणलाई निरन्तरता दिन ५० करोड रुपैयाँ विनियोजन गरेको छ।
काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनसँग जोडिएको ग्वार्को–सातदोबाटो–एकान्तकुना फ्लाइओभर परियोजना का लागि पनि १२ करोड ६६ लाख रुपैयाँ बजेट छुट्याइएको छ।
मन्त्रालयले समग्र सुरुङमार्ग विकास कार्यक्रम अन्तर्गत ३ करोड ७७ लाख ८० हजार रुपैयाँ विनियोजन गरेको जनाएको छ। यसअन्तर्गत विभिन्न नयाँ सुरुङमार्गको सम्भाव्यता अध्ययन, प्रारम्भिक डिजाइन तथा प्राविधिक तयारीका काम अघि बढाइनेछ।
प्रस्तावित सुरुङमार्गमध्ये टोखा–छहरे–गुर्जु भञ्ज्याङ सुरुङमार्गका लागि ११ लाख ४८ हजार रुपैयाँ छुट्याइएको छ। यस्तै विभिन्न प्रस्तावित सुरुङमार्गहरूको सम्भाव्यता अध्ययनका लागि १ लाख ९० हजार रुपैयाँ विनियोजन गरिएको छ।
मन्त्रालयले सुर्खेतको भेरी नदीदेखि बर्दियाको दानुवा तालसम्म सुरुङमार्ग अध्ययन का लागि ५ लाख ६० हजार रुपैयाँ बजेट व्यवस्था गरेको छ। त्यस्तै दोलालघाट–चर्नावती सुरुङमार्ग का लागि १८ लाख ९० हजार रुपैयाँ, हात्तीसार–बबई सुरुङमार्ग का लागि ७ लाख ५६ हजार रुपैयाँ र खुर्कोट–चियाबारी सुरुङमार्ग अध्ययनका लागि ३ लाख ९२ हजार रुपैयाँ विनियोजन गरिएको छ।
यसैगरी शिवपुर–भालुवाङ सुरुङमार्ग र रानीघाट–भुरीगाउँ सुरुङमार्ग अध्ययनका लागि पनि समान रूपमा ३ लाख ९२ हजार रुपैयाँ बजेट छुट्याइएको छ।
सरकारले सडक सञ्जालको दूरी घटाउने, यात्रा समय कम गर्ने तथा भौगोलिक जटिलता भएका क्षेत्रलाई सहज पहुँचसँग जोड्ने लक्ष्यसहित सुरुङमार्ग अवधारणालाई विस्तार गर्न खोजेको देखिन्छ। यद्यपि अधिकांश नयाँ योजनामा प्रारम्भिक अध्ययनका लागि मात्रै न्यून बजेट विनियोजन गरिएकाले ती आयोजना तत्काल निर्माण चरणमा प्रवेश गर्ने सम्भावना भने कम देखिएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया