शीर्षकहरू

डाँगीको नेतृत्वमा इप्पानको नयाँ कार्यसमिति, बस्याल कोषाध्यक्षमा निर्वाचित

नवनिर्वाचित अध्यक्ष डाँगीको प्राथमिकता: संस्थागत सुदृढीकरण, नीतिगत सुधार र युवा सहभागिता

डाँगीको नेतृत्वमा इप्पानको नयाँ कार्यसमिति, बस्याल कोषाध्यक्षमा निर्वाचित

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारण सभाबाट मोहन डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ। संस्थाको संशोधित विधान–२०७८ अनुसार निवर्तमान वरिष्ठ उपाध्यक्ष डाँगी स्वतः अध्यक्ष बनेका हुन्।

वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन लामा निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै उपाध्यक्षहरूमा हिमप्रसाद पाठक, सुसन कर्माचार्य, विक्रम न्यौपाने, नरेन्द्रबल्लभ पन्त, बलराम खतिवडा, प्रकाश दुलाल र उत्तरकुमार श्रेष्ठ चयन भएका छन्।

महासचिवमा टेकनाथ (टी.एन.) आचार्य तथा उपमहासचिवमा कविता पोखरेल निर्विरोध निर्वाचित भएका छन्। सचिवहरूमा सविना सुसनकुमारी जोशी, विजयमोहन भट्टराई, कुवेरमणि नेपाल, ईशा श्रेष्ठ र अभिज्ञा मल्ल निर्वाचित भएका छन् भने कृष्ण घिमिरे र दीपक पौडेललाई सचिवमा मनोनयन गरिएको छ।

अधिकांश पदमा निर्विरोध चयन भए पनि कोषाध्यक्ष पदका लागि निर्वाचन भएको थियो। निर्वाचनमा शंकर बस्याल २६७ मतसहित विजयी भए भने उनका प्रतिस्पर्धी मिथुन चक्रवर्तीप्रसाद पौडेलले ८२ मत प्राप्त गरे।

महिला सदस्यतर्फ ज्योति गैरे, संगीता धमला र प्रतिमा ज्ञवाली निर्विरोध निर्वाचित भएका छन्। खुला सदस्यमा भरतमणि छत्कुली, भरत खड्का, नारायण पौडेल, जगतबहादुर पोखरेल, जगदीश शिवाकोटी, पदम केसी, मिलन खड्का, वर्णन लामिछाने र अनुप आचार्य निर्वाचित भएका छन्। बाबुराम थापा, सुकुन्द ओझा, सन्तोषराज नेपाल, इन्दिरा पन्त र सोमनाथ कँडेललाई सदस्यमा मनोनयन गरिएको छ।

नवनिर्वाचित अध्यक्ष डाँगीले आफ्नो कार्यकालमा सामूहिक नेतृत्व, नीतिगत सुधार र संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्ने बताएका छन्। उनले ‘सँगै जाने, सँगै अघि बढ्ने’ अवधारणासहित इप्पानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।

उनले ऊर्जा क्षेत्रका विविध विषयमा काम गर्न ७ वटा विषयगत समिति र २ वटा उपसमिति गठन गर्ने योजना सार्वजनिक गर्दै युवाहरूलाई ऊर्जा क्षेत्रमा आकर्षित गर्न ‘जुनियर इप्पान’ अवधारणा अघि बढाइने जानकारी दिए।

त्यसैगरी अनुसन्धान तथा विकास (आरएन्डडी) गतिविधिलाई संस्थागत गर्न ७ देखि ९ सदस्यीय विज्ञ सल्लाहकार समूह गठन गरिने उनले बताए। ऊर्जा क्षेत्रप्रति वर्तमान सरकार सकारात्मक रहेको उल्लेख गर्दै अध्यक्ष डाँगीले आवश्यक नीतिगत सुधार, लगानीमैत्री वातावरण निर्माण र ऊर्जा क्षेत्रका समस्या समाधानका लागि सरकारसँग प्रभावकारी सहकार्य गर्ने प्रतिबद्धता जनाए।

प्रतिक्रिया