शीर्षकहरू

औषधि दुरुपयोग रोक्न तीन समूहका औषधिमा कडाइ

औषधि दुरुपयोग रोक्न तीन समूहका औषधिमा कडाइ

काठमाडौं । औषधि व्यवस्था विभागले प्रेगाबालिन, डाइसाइक्लोमिन र प्रोमेथाजिन समूहका औषधिको आयात, बिक्री वितरण र बजार व्यवस्थापनमा कडाइ गरेको छ।

विभागले सूचना जारी गर्दै पछिल्लो समय यी औषधिको दुरुपयोग बढेको गुनासो र सूचनाका आधारमा नयाँ नियमन व्यवस्था लागू गरिएको जनाएको हो।

नयाँ व्यवस्था अनुसार प्रेगाबालिन आयात गर्न चाहने आयातकर्ताले खुद्रा औषधि पसलसम्मको बजार आवश्यकताको विवरण अनिवार्य रूपमा विभागमा पेश गर्नुपर्नेछ। साथै प्रत्येक ६ महिनामा खपत विवरण अद्यावधिक रूपमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

खुद्रा औषधि पसलहरूले प्रेगाबालिन बिक्री गर्दा बिरामीको विवरण तथा औषधि सिफारिस गर्ने चिकित्सकको नाम र नेपाल मेडिकल काउन्सिल नम्बर अनिवार्य रूपमा अभिलेख राख्नुपर्नेछ। उक्त विवरण डिजिटल वा हार्ड कपी दुवै माध्यममा सुरक्षित राख्न सकिने व्यवस्था गरिएको छ।

त्यस्तै, डाइसाइक्लोमिन र प्रोमेथाजिन औषधिका उत्पादक तथा आयातकर्तालाई पनि वितरण प्रणालीको सम्पूर्ण अभिलेख व्यवस्थित गर्न निर्देशन दिइएको छ। डिस्ट्रिब्युटरदेखि खुद्रा तहसम्मको बिक्री–वितरणको रेकर्ड अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था गरिएको विभागले जनाएको छ।

विभागका अनुसार नयाँ व्यवस्थाले औषधिको अनधिकृत प्रयोग र दुरुपयोग नियन्त्रण गर्न तथा बजारमा आवश्यक औषधिको उपलब्धता सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

null

प्रतिक्रिया