शीर्षकहरू

अर्थमन्त्रीको आरोप : 'म र प्रधानमन्त्रीमाथि संगठित घेराबन्दी र अफवाह फैलाइँदैछ'

अर्थमन्त्रीको आरोप : 'म र प्रधानमन्त्रीमाथि संगठित घेराबन्दी र अफवाह फैलाइँदैछ'

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफू र प्रधानमन्त्रीमाथि “नियोजित रूपमा घेराबन्दी र आक्रमण” भइरहेको आरोप लगाएका छन्। बुधबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बजेटसम्बन्धी छलफलका क्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।

अर्थमन्त्री वाग्लेले “नेपाली इतिहासकै ठूलो वित्तीय अपराध” मा संलग्न भनिएका समूहबाट आफूहरू लक्षित भएको दाबी गर्दै ती समूहसँग सरकार असन्तुष्ट रहेकाले प्रतिशोधस्वरूप आक्रमण भइरहेको शंका व्यक्त गरे।

“प्रधानमन्त्रीज्यू र ममाथि नियोजित रूपमा घेराबन्दी र आक्रमण भइरहेको छ,” उनले भने, “सरकारले ठूलो वित्तीय अपराधमा संलग्नहरूमाथि छानबिन गरिरहेको छ, केही दिनमै यो विषय अदालत पुग्नेछ।”

उनले संसदका सदस्यहरूलाई यस्ता समूहको प्रभावमा नपर्न आग्रह गर्दै संसदको गरिमा कमजोर पार्ने प्रयास भइरहेको टिप्पणी गरे।

त्यसैगरी, अर्थमन्त्री वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह फैलाइएको आरोप पनि दोहोर्याए। बजेट छलफल अवरुद्ध पारेर बदनाम गर्ने प्रयास भएको उनको भनाइ थियो।

“बजेट छलफल हुनुपर्ने संसदमा अवरोध गरेर मविरुद्ध संगठित रूपमा अफवाह फैलाइएको छ,” उनले भने, “म त्यसको जवाफ दिन संसदीय समितिमा उपस्थित भएको हुँ।”

यसैबीच, उनले आर्थिक विधेयकमा देखिएका केही त्रुटि नियमानुसार सच्याइएको स्पष्ट पारे। विधेयक संसदमा पेस भएपछि भाषागत तथा प्राविधिक सुधार आवश्यक देखिएकाले प्रचलित प्रक्रिया अनुसार संशोधन गरिएको उनले बताए।

“साना त्रुटि सच्याउनु नियतको विषय होइन,” उनले भने, “विगतमा पनि यस्ता संशोधन हुँदै आएका छन्।”

उनका अनुसार आवश्यक सुधारपछि विवरण संसदमा पठाइएको र प्रक्रियागत रूपमा कुनै अनियमितता नभएको उनले दाबी गरे।

विद्युतीय सवारीसाधनको कर तथा अन्य प्राविधिक विषयमा पनि आवश्यक परिमार्जन गरिएको उल्लेख गर्दै उनले नियतभन्दा प्रक्रियालाई आधार बनाएर विषयलाई बुझ्न आग्रह गरे।

प्रतिक्रिया