शीर्षकहरू

चैते धानको न्यूनतम समर्थन मूल्य नपाउँदा मर्कामा किसान

चैते धानको न्यूनतम समर्थन मूल्य नपाउँदा मर्कामा किसान

चितवन। चितवनका किसानले राज्यले तोकेको चैते धानको न्यूनतम समर्थन मूल्य नपाउँदा मर्कामा परेका छन्।

जिल्लामा करिब नौ हजार हेक्टर क्षेत्रमा चैते धानखेती भए पनि सरकारले समर्थन मूल्य तोक्ने र कार्यान्वयन गर्ने प्रक्रियामा ढिलाइ हुँदा किसानले उत्पादनको उचित मूल्य पाउन नसकेको बताएका छन्।

पूर्वी चितवनको खैरहनी नगरपालिकास्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडअन्तर्गत करिब एक हजार हेक्टर क्षेत्रमा धानखेती गरिएको भए पनि त्यहाँका अधिकांश किसानले समर्थन मूल्यअनुसार बिक्री गर्न नपाएको सहकारीका अध्यक्ष रामशरण पाठकले जानकारी दिए। उनका अनुसार चैते धान बिक्रीमा समर्थन मूल्य लागू नहुँदा किसानले लागतसमेत उठाउन कठिनाइ भएको छ।

यस्तै भरतपुर महानगरपालिका–२८ स्थित राप्ती कृषि तथा पशुपालन समूहका सचिव रञ्जीत पौडेलले पनि समर्थन मूल्य नपाउँदा किसान निराश बनेको बताए। उत्पादन बढे पनि उचित बजार र सरकारी मूल्य सुनिश्चित नहुँदा किसानले घाटा व्यहोर्नु परेको उनको भनाइ छ।

जिल्लामा चैते ५, हर्दिनाथ १, पिआर र टाइचिन लगायतका जातका धान खेती गरिएको छ। तर मूल्य निर्धारण र खरिद प्रक्रिया प्रभावकारी रूपमा अघि नबढ्दा किसानको उत्पादनले प्रतिफल नदिएको गुनासो बढेको छ।

कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले भने यस वर्ष चैते धानको समर्थन मूल्य तोक्ने प्रक्रिया सरकारले ढिलाइ गरेको कारण समस्या देखिएको बताए। उनका अनुसार मूल्य निर्धारणमा भएको ढिलाइका कारण किसानले सरकारी दरमा बिक्री गर्न नपाएको अवस्था सिर्जना भएको हो।

किसानहरूले समयमा समर्थन मूल्य लागू गरी सरकारी खरिद व्यवस्था प्रभावकारी बनाउन माग गरेका छन्।

प्रतिक्रिया