काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले गृहमन्त्रीमा पुनः सुधन गुरुङलाई नियुक्त गर्ने निर्णय गरेका छन्। सम्पत्ति विवरण र व्यावसायिक साझेदारी सम्बन्धी विवादपछि राजीनामा दिएका गुरुङलाई मन्त्रिपरिषद्ले छानबिन प्रतिवेदन स्वीकार गरेसँगै पुनः गृह मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको हो।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वगृहमन्त्री गुरुङमाथि अध्ययन तथा छानबिन गर्न गठित समितिको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ। उक्त प्रतिवेदनले गुरुङको सम्पत्ति तथा आयस्रोतका सम्बन्धमा कुनै अस्वाभाविक अवस्था नदेखिएको निष्कर्ष निकालेपछि उनको पुनरागमनको बाटो खुलेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार गुरुङलाई गृहमन्त्रीका रूपमा पुनर्नियुक्त गर्न राष्ट्रपति कार्यालयमा सिफारिस पठाइएको छ। उनको शपथग्रहण कार्यक्रम मंगलबार नै तय गरिएको छ।
गुरुङले व्यवसायी दीपक भट्टसँगको साझेदारी तथा सम्पत्ति विवरणबारे प्रश्न उठेपछि गत वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। भट्टसँगको सेयर लगानी तथा व्यावसायिक सम्बन्धका विषयमा सार्वजनिक रूपमा प्रश्न उठ्न थालेपछि उनले नैतिक जिम्मेवारी वहन गर्दै पद छाडेको घोषणा गरेका थिए।
राजीनामाका क्रममा गुरुङले आफूले सार्वजनिक जीवनमा इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गरेको दाबी गर्दै आफ्नो लगानीसम्बन्धी विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीरतापूर्वक लिएको बताएका थिए।
त्यसपछि सरकारले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य थिए।
समितिले हालै प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदनमा गुरुङको सम्पत्ति तथा आयस्रोतका सम्बन्धमा प्रत्यक्ष अनियमितता पुष्टि हुने आधार नभेटिएको निष्कर्ष निकालेको स्रोतले जनाएको छ। प्रतिवेदनमा व्यक्तिगत आचरणभन्दा पनि सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति विवरण परीक्षण तथा अनुगमन गर्ने सरकारी प्रणालीमा सुधार आवश्यक रहेको सुझाव दिइएको बताइएको छ।
प्रतिवेदन स्वीकार गरेसँगै सरकारले गुरुङलाई पुनः गृह मन्त्रालयको नेतृत्वमा फर्काउने निर्णय गरेको हो। प्रधानमन्त्री शाह र गुरुङ एउटै राजनीतिक धारबाट आएका निकट सहकर्मी मानिन्छन्।
यसैबीच, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अभियन्ता महावीर पुन पनि मन्त्रिपरिषद्मा प्रवेश गर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री नियुक्त गर्ने तयारी गरिएको छ।
उनको पनि मंगलबार नै शपथग्रहण कार्यक्रम राखिएको छ। पुनको नियुक्तिलाई विज्ञान, अनुसन्धान, नवप्रवर्तन तथा प्रविधिमैत्री नीतिलाई प्राथमिकता दिने सरकारको प्रयासका रूपमा हेरिएको छ।
गुरुङको पुनरागमन र महावीर पुनको मन्त्रिपरिषद् प्रवेशसँगै शाह नेतृत्वको सरकारले मन्त्रिपरिषद्लाई पूर्णता दिनुका साथै प्रशासनिक तथा नीतिगत एजेन्डालाई थप गति दिने संकेत गरेको छ।
आर्थिकन्यूज
प्रतिक्रिया