शीर्षकहरू

माछापुच्छ्रेको बैंकिङ एप ‘एमबीएल एम-स्मार्ट’ मार्फत नेपाल-भारत-नेपाल क्रस बोर्डर ट्रान्सफर सेवा सुरु

माछापुच्छ्रेको बैंकिङ एप ‘एमबीएल एम-स्मार्ट’ मार्फत नेपाल-भारत-नेपाल क्रस बोर्डर ट्रान्सफर सेवा सुरु

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो मोबाइल बैंकिङ एप ‘एमबीएल एम–स्मार्ट’ मार्फत नेपाल–भारत–नेपाल क्रस बोर्डर ट्रान्सफर सेवा सञ्चालनमा ल्याएको छ। बैंकले यो सेवाले दुई देशबीचको डिजिटल भुक्तानी तथा रेमिट्यान्स कारोबारलाई थप सहज, सुरक्षित र छिटो बनाउने जनाएको छ।

बैंकका अनुसार नयाँ सेवामार्फत भारतमा बसोबास, अध्ययन वा रोजगारी गरिरहेका नेपाली नागरिकले भारतमा प्रचलित यूपीआई (UPI) आबद्ध डिजिटल भुक्तानी एप प्रयोग गरी नेपालस्थित परिवारजन वा अन्य लाभग्राहीको बैंक खातामा सिधै रकम पठाउन सक्नेछन्। पठाइएको रकम लाभग्राहीको खातामा तत्काल जम्मा हुने भएकाले रेमिट्यान्स सेवा अझ छिटो र सहज हुने बैंकको विश्वास छ।

त्यसैगरी नेपालमा बसोबास गर्ने वा कार्यरत भारतीय नागरिकले पनि एमबीएल एम–स्मार्ट एपमा उपलब्ध क्रस बोर्डर ट्रान्सफर सुविधामार्फत भारतमा रकम पठाउन सक्नेछन्। बैंकका अनुसार यस सेवाले व्यक्तिगत स्तरमा हुने सीमापार रकम स्थानान्तरणलाई डिजिटल माध्यमबाट सरल बनाउनेछ।

माछापुच्छ्रे बैंकले सेवा सञ्चालनका क्रममा सुरक्षा, पारदर्शिता तथा नियामकीय अनुपालनका मापदण्डलाई प्राथमिकतामा राखिएको जनाएको छ। बैंकका अनुसार यो पहलले नेपाल र भारतबीचको डिजिटल भुक्तानी पूर्वाधारलाई थप बलियो बनाउनुका साथै औपचारिक माध्यमबाट हुने रेमिट्यान्स कारोबारलाई प्रोत्साहन गर्नेछ।

बैंकले आगामी दिनमा पनि प्रविधिमैत्री तथा ग्राहक–केन्द्रित बैंकिङ सेवाको विस्तार गर्दै डिजिटल बैंकिङ क्षेत्रमा नयाँ सेवा र सुविधा ल्याउने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया