काठमाडौं । खाडी राष्ट्रहरूले छोटो अवधिमै आर्थिक, सामाजिक तथा कूटनीतिक क्षेत्रमा हासिल गरेको उल्लेखनीय प्रगति र सफलताको कथा समेटिएको नयाँ पुस्तक प्रकाशन हुने भएको छ।
दुई दशकभन्दा बढी समय कतारमा बसेर खाडी मुलुकहरूको इतिहास, समाज, संस्कृति, भाषा तथा आर्थिक–कूटनीतिक विकासको अध्ययन गरेका लेखक मोहम्मद रमजान अली मियाले ‘बियोन्ड आयल : इकोनोमिक मिराकल अफ द गल्फ’ नामक पुस्तक प्रकाशन गर्न लागेका हुन्।
आइतबार आयोजित पुस्तकको प्रि–लन्च कार्यक्रममा मियाले खाडी मुलुकबारे विश्वले कमै चर्चा गरेका पक्षहरू पुस्तकमा समेटिएको बताए। उनका अनुसार खाडी राष्ट्रहरूलाई प्रायः तेल र प्राकृतिक ग्यासका आधारमा मात्र चिनिए पनि उनीहरूले विश्व कूटनीतिमा महत्वपूर्ण प्रभाव स्थापित गरिरहेका छन्।
“कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र साउदी युवराज मोहम्मद बिन सलमानजस्ता युवा नेतृत्वको कूटनीतिक चातुर्य, क्षेत्रीय द्वन्द्व समाधानमा उनीहरूले खेलेको मध्यस्थकर्ताको भूमिका लगायतका विषय पुस्तकमा समेटिएका छन्,” मियाले भने।
खाडी राष्ट्रहरूको विकास यात्राबाट नेपालले पनि धेरै पाठ सिक्न सक्ने विश्वासका साथ पुस्तक लेखिएको उनले बताए। यो मियाको ३७औँ कृति हुनेछ।
कतारको राष्ट्रिय मानव अधिकार आयोगमा स्वयंसेवकका रूपमा समेत कार्यरत मियाले प्रवासी नेपाली श्रमिकका लागि अरबी भाषा सिकाउने पुस्तक, कतारको श्रम कानुनको नेपाली अनुवाद तथा इस्लाम धर्मसम्बन्धी विभिन्न ग्रन्थ प्रकाशन गरिसकेका छन्।
कार्यक्रममा सम्पादक सौदामिनी चालिसेले पुस्तकले कतार, बहराइन, संयुक्त अरब इमिरेट्स, ओमान, साउदी अरेबिया र कुवेतलगायत खाडी राष्ट्रका विविध आयामलाई एकै ठाउँमा प्रस्तुत गर्ने बताइन्।
प्रकाशक सिमल बुक पब्लिकेसन तथा लेखन कुञ्जका अध्यक्ष कमल ढकालले मियालाई आफूले चिनेका नेपालीमध्येका एक विशिष्ट खाडीविज्ञको रूपमा चित्रित गरे। “यस्तो व्यक्तिले लेखेको पुस्तक कूटनीतिक, शैक्षिक तथा प्राज्ञिक क्षेत्रका लागि महत्वपूर्ण सन्दर्भ सामग्री बन्नेछ,” उनले भने।
ढकालले कतार सरकारले मियालाई दिएको जिम्मेवारी र सम्मान सम्पूर्ण नेपालीका लागि गर्वको विषय भएको उल्लेख गरे।
लेखक मियाका अनुसार पुस्तक आगामी दुई महिनाभित्र बजारमा उपलब्ध हुनेछ।
आर्थिकन्यूज
प्रतिक्रिया