काठमाडौं । विश्व बैंक समूहले दशकौँदेखि अत्यधिक गरिबी न्यूनीकरणमा हासिल भएको प्रगति सन् २०३० सम्म उल्टिन सक्ने चेतावनी दिएको छ।
द्वन्द्व, हिंसा, जलवायुजन्य विपद् तथा स्वास्थ्य संकटका कारण विश्वका सबैभन्दा गरिब समुदायहरू थप जोखिममा परिरहेका बेला विश्व बैंकले ‘फ्राजिलिटी फोरम २०२६’ मार्फत तत्काल समन्वित कार्यको आवश्यकता औंल्याएको हो।
जुन ८ देखि १० सम्म आयोजना हुने फोरममा विश्व बैंक समूह, सरकारहरू, विकास साझेदार तथा दातृ निकायहरूले गरिबी, रोजगारी, आर्थिक अवसर तथा जोखिम व्यवस्थापनका विषयमा छलफल गर्नेछन्। फोरममा विगतका अनुभव, सिकाइ तथा नयाँ नीतिगत उपायहरू प्रस्तुत गरिने जनाइएको छ।
विश्व बैंकका अनुसार क्यारिबियन क्षेत्रका मुलुकहरू हरेक वर्ष करिब १८३ दिनसम्म आँधीबेहरी र प्राकृतिक विपद्को उच्च जोखिममा रहने गरेका छन्। एउटा ठूलो आँधीले दशकौँको रोजगारी वृद्धि र आर्थिक उपलब्धिलाई समेत नष्ट गर्न सक्ने अवस्था छ। यस जोखिम न्यूनीकरणका लागि विश्व बैंक समूहले ११ देशमा २३ करोड ५० लाख डलर बराबरको पूर्वाधार तथा पुनर्निर्माणसम्बन्धी लगानी गरिरहेको जनाएको छ।
विश्व बैंकले विपद् केवल आकस्मिक रूपमा मात्र नभई क्रमिक रूपमा पनि देखा पर्ने उल्लेख गरेको छ। वायु प्रदूषणका कारण विश्वभर वार्षिक ५७ लाख मानिसको मृत्यु हुने तथा यसले विश्व अर्थतन्त्रलाई कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को करिब ५ प्रतिशत बराबरको क्षति पुर्याउने तथ्यांक प्रस्तुत गरिएको छ। यद्यपि लक्षित नीतिहरूमार्फत स्वच्छ हावाले आर्थिक प्रतिफलसमेत दिन सक्ने प्रमाणहरू देखिन थालेको विश्व बैंकको भनाइ छ।
स्वास्थ्य क्षेत्रलाई पनि विश्व बैंकले प्रमुख चुनौतीका रूपमा औंल्याएको छ। हाल विश्वका करिब ४ अर्ब ५० करोड मानिस आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित रहेको उल्लेख गर्दै कृत्रिम बुद्धिमत्ता (एआई) ले उपचार विकल्प पहिचान गर्न, स्वास्थ्यकर्मीलाई सहयोग पुर्याउन तथा स्रोतसाधन अभाव भएका क्षेत्रमा सेवा विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने जनाएको छ।
विश्व बैंकले विभिन्न क्षेत्र र भूगोलमा जोखिमको स्वरूप बढ्दो क्रममा रहेको उल्लेख गर्दै प्रभावकारी नीति, लक्षित लगानी र अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य भएको जनाएको छ। आगामी साता सार्वजनिक हुने ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स’ प्रतिवेदनले विश्व अर्थतन्त्रको वर्तमान अवस्था तथा आगामी महिनाहरूको सम्भावित दिशाबारे थप विश्लेषण प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया