शीर्षकहरू

इप्पानको विधान विवाद चर्कियो, अधिवेशन वैधानिक रूपमा हुने अध्यक्ष कार्कीको दाबी

इप्पानको विधान विवाद चर्कियो, अधिवेशन वैधानिक रूपमा हुने अध्यक्ष कार्कीको दाबी

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले आगामी जेठ २९ गते हुने २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशन वैधानिक रूपमा आयोजना हुने स्पष्ट गर्दै विधान गायब भएको वा विधानविपरीत साधारणसभा गर्न लागिएको भन्ने आरोपको खण्डन गरेको छ।

इप्पानका अध्यक्ष गणेश कार्कीद्वारा जारी विज्ञप्तिमा संस्थाका ७०० भन्दा बढी कम्पनी सदस्य रहेको उल्लेख गर्दै साधारणसभा तथा अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ।

इप्पानका अनुसार २०८० जेठ ३२ गते सम्पन्न २१औँ वार्षिक साधारणसभाले भानुभक्त पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय विधान संशोधन तथा पुनर्लेखन समिति गठन गरेको थियो। उक्त समितिले २०८२ जेठ २९ गते संस्थालाई महासंघमा रूपान्तरण गर्ने प्रस्तावसहितको मस्यौदा प्रतिवेदन पेश गरेको थियो।

सो प्रतिवेदनमाथि २०८२ असार ३१ गते सम्पन्न २३औँ वार्षिक साधारणसभामा छलफल भई कार्यान्वयनका लागि अध्यक्षलाई अधिकार प्रदान गरिएको थियो। तर २०८३ वैशाख ४ गते सम्पन्न कार्यसमितिको २००औँ बैठकले इप्पानलाई महासंघमा रूपान्तरण नगरी विद्यमान विधान–२०७८ अनुसार २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशन गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।

त्यसपछि २०८३ जेठ २५ गते बसेको २०३औँ कार्यसमिति बैठकले विधान संशोधनको प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको जनाइएको छ। प्रस्तावित संशोधनअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था हटाइने तथा अध्यक्षसहित सबै पदमा योग्य सदस्यले खुला प्रतिस्पर्धा गर्न सक्ने व्यवस्था गरिनेछ।

इप्पानले आगामी अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न गर्ने उद्देश्यका साथ सबै सदस्यलाई निर्वाचन प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ।

यसैबीच, संस्थाका उपमहासचिव प्रकाशचन्द्र दुलालले विधान गायब भएको र विधानविपरीत साधारणसभा आयोजना गर्न लागिएको आरोप सार्वजनिक रूपमा लगाएको भन्दै इप्पानले त्यसको कडा शब्दमा भर्त्सना गरेको छ। संस्थाले पोखरेल नेतृत्वको समितिले तयार पारेको मस्यौदा प्रतिवेदन सचिवालयमै सुरक्षित रहेको दाबी गरेको छ।

इप्पानले साधारणसभा तथा अधिवेशनका लागि जेठ ९ र १० गते नै सार्वजनिक सूचना प्रकाशित गरिसकिएको उल्लेख गर्दै ऊर्जा व्यवसायीहरूलाई भ्रममा नपर्न र अधिवेशन सफल बनाउन सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ।

प्रतिक्रिया