शीर्षकहरू

माउन्ट एभरेष्ट पावरले असार ३ देखि १४.२७ लाख कित्ता आईपीओ बिक्री खुला गर्ने

माउन्ट एभरेष्ट पावरले असार ३ देखि  १४.२७ लाख कित्ता आईपीओ बिक्री खुला गर्ने

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले असार ३ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गर्ने भएको छ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याइएको सेयर बाँडफाँट सम्पन्न भएपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत बराबर २५ करोड ८० लाख रुपैयाँ मूल्यका २५ लाख ८० हजार कित्ता साधारण सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। यसमध्ये ८ लाख ६० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई तथा १ लाख ७२ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याएर बिक्री तथा बाँडफाँट गरिसकिएको कम्पनीले जनाएको छ।

यस्तै, ३४ हजार ४०० कित्ता सेयर कम्पनीका कर्मचारीका लागि र ८६ हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँडफाँट गरिएको छ।

अब बाँकी रहेको १४ लाख २७ हजार ६ सय कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरिने भएको हो। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका यी सेयरको कुल मूल्य १४ करोड २७ लाख ६० हजार रुपैयाँ बराबर रहेको छ।

कम्पनीका अनुसार लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपीओ बिक्री छिटोमा असार ८ गते बन्द हुनेछ। सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि असार १७ गतेसम्म लम्बिनेछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सी–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एन्ड क्लियरिङ लिमिटेड को ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

कम्पनीको आईपीओलाई केयर रेटिङ्स नेपालले ‘केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्ने जनाइएको छ।

माउन्ट एभरेष्ट पावरले सोलुखुम्बु जिल्लामा १२ मेगावाट क्षमताको दुधकुण्ड खोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ। कम्पनीका अनुसार आयोजनाको कुल लागत २ अर्ब ३६ करोड ९३ लाख रुपैयाँभन्दा बढी रहेको छ। प्रतिमेगावाट लागत करिब १९ करोड ७४ लाख रुपैयाँ पुगेको छ।

आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्रको अवधि अझै २८ वर्ष ९ महिना बाँकी रहेको कम्पनीले जनाएको छ। साधारण आधारमा लगानी फिर्ता हुने अवधि ६.४० वर्ष तथा डिस्काउन्ट गरिएको आधारमा ८.९४ वर्ष रहेको विवरणमा उल्लेख छ।

 

प्रतिक्रिया