काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले देशको औद्योगिक रूपान्तरण, ऊर्जा उपयोग र प्रविधि विकासलाई जोड दिँदै नेपाललाई विद्युत तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
नेपाल विद्युुतीय व्यवसायी महासंघद्धारा आयोजित फिन ईलेक्टो टेक एक्स्पो २०२६” को उद्घाटन समारोहलाई विशेष अतिथिका रूपमा सम्बोधन गर्दै अध्यक्ष अग्रवालले यस्तो अन्तर्राष्ट्रिय प्रदर्शनीले नेपालमा प्रविधि, ऊर्जा र औद्योगिक सहकार्यलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गरे ।
अध्यक्ष अग्रवालले नेपालको ऊर्जा, विद्युतीय, इलेक्ट्रोनिक्स, सूचना प्रविधि, सञ्चार तथा वैकल्पिक ऊर्जा क्षेत्रको विकासलाई नयाँ उचाइमा पु¥याउने उद्देश्यसहित आयोजना गरिएको प्रदर्शनी केवल एक व्यापारिक गतिविधि मात्र नभई प्रविधि, नवप्रवर्तन, मैत्रीपूर्ण विकास र हरित अर्थतन्त्र निर्माणतर्फको महत्वपूर्ण अभियान भएको बताए ।
उनले उक्त प्रदर्शनीले नेपालमा विद्युतीय तथा इलेक्ट्रोनिक्स क्षेत्रका उद्यमी, व्यवसायी, उत्पादक तथा सेवा प्रदायकबीच आवश्यक सूचना, अनुभव र प्रविधिको आदान–प्रदानलाई सहज बनाउने विश्वास व्यक्त गरे । साथै, यस प्रकारका अन्तर्राष्ट्रिय स्तरका प्रदर्शनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उद्यमी तथा उत्पादकहरूलाई एउटै मञ्चमा ल्याएर आर्थिक सम्बन्ध विस्तार गर्न मद्दत गर्ने उनको भनाइ छ ।
अध्यक्ष अग्रवालका अनुसार, यस्तो प्रदर्शनीले नेपाललाई नयाँ आर्थिक यात्रातर्फ अघि बढाउने “प्रारम्भिक बिन्दु” को रूपमा काम गर्नेछ । उनले यसले उत्पादन क्षमता र बजार अवसरबीचको दूरी घटाई देशलाई आर्थिक वृद्धिदरको लक्ष्यतर्फ अघि बढाउन सहयोग पु¥याउने विश्वास व्यक्त गरे । उनले नेपालको आर्थिक वृद्धि लक्ष्य ७ प्रतिशतसम्म पु¥याउन यस्ता गतिविधिहरूले महत्वपूर्ण योगदान दिन सक्ने उल्लेख गरे ।
उनले भारतमा प्रतिव्यक्ति वार्षिक विद्युत खपत करिब १,५०० र चीनमा ७,१०० युनिट किलोवाट आवर रहेको तथ्य प्रस्तुत गर्दै नेपालमा प्रतिव्यक्ति विद्युत खपत करिब ४६५ युनिट किलोवाट आवर मात्रै रहेको बताए । यसले नेपालको ऊर्जा उपयोग र औद्योगिक विकासबीच ठूलो अन्तर रहेको स्पष्ट हुने उनको भनाइ थियो ।
उनले विद्युत खपत वृद्धि र ऊर्जा उपयोग विस्तार नै आर्थिक रूपान्तरणको आधार भएको उल्लेख गर्दै स्वच्छ ऊर्जा विकासलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै, उनले हाल कायम रहेको एमआरपी प्रणालीले व्यवसायिक क्षेत्रमा चुनौती सिर्जना गरेको बताए । विशेषगरी भन्सार बिन्दुमा नै एमआरपी लेबलिङ अनिवार्य गर्दा व्यवसायीलाई कठिनाइ भएको उनको भनाइ थियो । एउटै कन्टेनरमा विभिन्न प्रकारका वस्तुहरू आउने भएकाले भन्सार बिन्दुमा लेबलिङ गर्न व्यवहारिक कठिनाइ रहेको उनले उल्लेख गरे ।
उनले भन्सार पूर्वाधार अझै पर्याप्त रूपमा विकास नभएको कारण वर्तमान प्रणालीले व्यवसायमा अनावश्यक दबाब सिर्जना गरेको भन्दै सुधार आवश्यक रहेको बताए । यस्तो व्यवस्थाले उपभोक्तामा समेत प्रत्यक्ष असर पर्ने भएकाले बजारमा स्वतन्त्र प्रतिस्पर्धा र बजार विस्तारलाई प्रवद्र्धन गर्नुपर्नेमा उनले जोड दिए । साथै, अध्यक्ष अग्रवालले प्रदर्शनीले नेपाललाई प्रविधि, ऊर्जा र नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्न सहयोग पु¥याउने विश्वास समेत व्यक्त गरे ।
आर्थिकन्यूज
प्रतिक्रिया