काठमाडौं। मलेसियाली अटोमोबाइल कम्पनी प्रोटोनले विद्युतीय सवारी (ईभी) उत्पादन क्षमता विस्तार गरिरहेको बेला नेपालमा पनि नयाँ मोडल भित्र्याउने तयारी गरिएको छ। नेपालका लागि प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘प्रोटोन ई.मास ७’ को उत्साहजनक बजार प्रतिक्रियापछि आफ्नो ईभी पोर्टफोलियो विस्तार गर्न लागेको जनाएको छ।
कम्पनीका अनुसार नेपाली बजारमा ‘प्रोटोन ई.मास ७’ सार्वजनिक भएको छोटो अवधिमै उपभोक्ताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ। त्यसकै आधारमा आगामी दिनमा थप विद्युतीय मोडल ल्याउने योजना अघि बढाइएको हो।
प्रोटोनले मलेसियामा ईभी बिक्रीमा उल्लेखनीय वृद्धि हासिल गरेको जनाएको छ। सन् २०२६ को जनवरीदेखि अप्रिलसम्मको अवधिमा कम्पनीको ईभी बिक्री ३२९ प्रतिशतले बढेको र चार महिनामै ११ हजार ६१७ भन्दा बढी सवारी ग्राहकलाई हस्तान्तरण गरिएको कम्पनीको दाबी छ।
बढ्दो मागलाई सम्बोधन गर्न प्रोटोनले तान्जुङ मालिमस्थित ईभी उत्पादन केन्द्र विस्तारका लागि ३७ मिलियन मलेसियन रिङ्गिट लगानी गर्ने घोषणा गरेको छ। उक्त विस्तारपछि कम्पनीको वार्षिक उत्पादन क्षमता ४२ हजार युनिट पुर्याउने लक्ष्य रहेको बताइएको छ।
जगदम्बा मोटर्सका अनुसार नेपाली उपभोक्तामा विद्युतीय सवारीप्रतिको आकर्षण तीव्र रूपमा बढिरहेको छ। कम्पनीका एक प्रतिनिधिले ‘ई.मास ७’ प्रति प्राप्त प्रतिक्रिया उत्साहजनक रहेको बताउँदै यसले नेपाली ग्राहक गुणस्तरीय विद्युतीय विकल्प खोजिरहेको संकेत दिएको बताए।
हाल बिक्रीमा रहेको ‘प्रोटोन ई.मास ७’ १६० किलोवाट क्षमताको विद्युतीय मोटरयुक्त प्रिमियम एसयूभी हो। कम्पनीका अनुसार यो गाडीले एनईडीसी मापदण्डअनुसार एकपटकको पूर्ण चार्जमा अधिकतम ४७५ किलोमिटरसम्म यात्रा गर्न सक्छ। गाडीमा ३६० डिग्री सराउन्ड भ्यु क्यामेरा, हेडरेस्ट स्पिकर, उन्नत ड्राइभिङ प्रविधि तथा आधुनिक सुरक्षा र कनेक्टिभिटी सुविधा समावेश छन्।
कम्पनीले हाल ‘ई.मास ७’ खरिद गर्ने ग्राहकलाई एक वर्षको निःशुल्क बीमा, एक वर्षको सडक कर छुट, निःशुल्क ७ किलोवाट क्षमताको होम चार्जर, आठ वर्षको वारेन्टी तथा नगद छुटजस्ता सुविधा उपलब्ध गराइरहेको जनाएको छ।
यसैबीच, जगदम्बा मोटर्सले निकट भविष्यमा ‘प्रोटोन ई.मास ५’ पनि नेपाली बजारमा ल्याउने तयारी गरिरहेको जनाएको छ। कम्पनीका अनुसार सन् २०२६ मा मलेसियामा सर्वाधिक बिक्री भएको विद्युतीय सवारीमध्ये परेको ‘ई.मास ५’ विशेषगरी शहरी प्रयोगकर्ता र युवा पुस्तालाई लक्षित गरी विकास गरिएको मोडल हो।
जगदम्बा मोटर्स नेपालमा टिभिएस दुईपाङ्ग्रे सवारी, चेरी वान्डाका व्यावसायिक विद्युतीय सवारी तथा जेएमईभी ब्रान्डका विद्युतीय सवारीको पनि आधिकारिक वितरक हो। कम्पनीले विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका विद्युतीय तथा आधुनिक सवारी नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ।

आर्थिकन्यूज
प्रतिक्रिया