काठमाडौं । ओपनर कुशल भुर्तेलको कीर्तिमानी शतकसँगै नेपालले एसियन गेम्स छनोटको समूह ‘ए’ अन्तिम खेलमा मलेसियालाई १६७ रनले पराजित गर्दै समूह विजेता बनेको छ।
बिहीबार सिंगापुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाउँदै २७६ रनको विशाल योगफल तयार पारेको थियो। नेपालका लागि भुर्तेलले मात्र ५४ बलमा १२६ रन बनाए। उनले १४ चौका र ८ छक्कासहित आक्रामक ब्याटिङ प्रदर्शन गरे।
भुर्तेलसँगै आसिफ शेखले २४ बलमा ६८ रनको विस्फोटक इनिङ खेले। कप्तान दीपेन्द्रसिंह ऐरीले ११ बलमा ३१ रन, सन्दीप जोराले १५ रन र लोकेश बमले १० रनको योगदान दिए। पहिलो विकेटका लागि भुर्तेल र आसिफबीच १३४ रनको साझेदारी भयो भने भुर्तेल–दीपेन्द्रबीच ५१ रनको साझेदारी भएको थियो।
जवाफमा मलेसिया २० ओभरमा ९ विकेट गुमाउँदै १०८ रनमा सीमित भयो। कप्तान सयद अजिजले ५४ रन बनाए पनि अन्य ब्याटर सस्तैमा आउट भए। नेपालका शेर मल्लले ३ विकेट लिए।
यस जितसँगै नेपाल समूह ‘ए’ को विजेता बनेको छ। चीनलाई हराएका दुवै टोली पहिले नै एसियन गेम्सका लागि छनोट भइसकेका थिए। अब नेपालले समूह ‘बी’ को उपविजेतासँग सेमिफाइनल प्रवेशका लागि खेल्नेछ।
यो खेलसँगै कुशल भुर्तेलले टी–२० आईमा लगातार दुई शतक प्रहार गर्दै इतिहास रचेका छन्। उनी लगातार शतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन् र विश्व क्रिकेटमा पनि दुर्लभ उपलब्धि हासिल गर्ने सूचीमा परेका छन्।
आर्थिकन्यूज
प्रतिक्रिया