काठमाडौँ। नेपालमा बीवाईडी विद्युतीय सवारीसाधनको आधिकारिक वितरक साइमेक्स इंकले हालै विद्युतीय सवारी आयात र भन्सार जाँचपास प्रक्रियाबारे सार्वजनिक रूपमा उठेका प्रश्नप्रति ध्यानाकर्षण भएको जनाउँदै सबै आयात प्रक्रिया प्रचलित कानुन र भन्सार नियमअनुसार सम्पन्न गरिएको स्पष्ट पारेको छ।
कम्पनीले जारी गरेको विज्ञप्तिमा आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनुअघि नेपाल भित्रिएका तथा भन्सार जाँचपास भएका बीवाईडीका सवारीसाधनबारे सञ्चारमाध्यम र सार्वजनिक वृत्तमा विभिन्न टिप्पणीहरू आएको उल्लेख गर्दै त्यसबारे तथ्यगत स्पष्टिकरण दिएको हो।
साइमेक्सका अनुसार विभिन्न सञ्चारमाध्यममा उल्लेख गरिएका सवारीसाधनहरू नेपाल सरकारका प्रचलित कानुन, भन्सारसम्बन्धी नियमावली तथा स्थापित प्रक्रियाअनुसार पूर्ण रूपमा आयात र जाँचपास गरिएका हुन्। कम्पनीले २२६ वटा सवारीसाधन चीनतर्फको भन्सार क्षेत्रमा आइपुगे पनि तीमध्ये कुनै पनि हालसम्म नेपालतर्फ भन्सार जाँचपास नभएको जनाएको छ।
कम्पनीले कुनै पनि चरणमा विशेष सुविधा, प्राथमिकता प्राप्त प्रक्रिया वा अनधिकृत भन्सार व्यवस्थाबाट लाभ नलिएको दाबी गरेको छ। यस्ता सुविधा प्राप्त गर्न कुनै अनुरोधसमेत नगरेको विज्ञप्तिमा उल्लेख छ।
साइमेक्सका अनुसार ग्राहकबाट प्राप्त अग्रिम बुकिङ पूरा गर्न तथा नेपालमा विद्युतीय सवारीसाधनको बढ्दो माग सम्बोधन गर्न नियमित व्यावसायिक योजनाअनुसार सवारी आयात गरिएको हो। आयात प्रक्रिया बीवाईडीको उत्पादन तालिका, ढुवानी उपलब्धता, मौज्दात व्यवस्थापन तथा अन्तर्राष्ट्रिय ढुवानी व्यवस्थासँग सम्बन्धित पक्षलाई ध्यानमा राखेर सञ्चालन गरिएको कम्पनीको भनाइ छ।
कम्पनीले कर परिवर्तनबाट जोगिन सरकारी निकायसँग समन्वय गरेको वा अनुचित लाभ लिएको भन्ने आरोपलाई पूर्ण रूपमा निराधार र असत्य भएको जनाएको छ। यस्ता आरोपले कम्पनीको प्रतिष्ठामा क्षति पुर्याउने उद्देश्य राखेको दाबी पनि विज्ञप्तिमा गरिएको छ।
साइमेक्सले कुनै पनि वैधानिक अनुसन्धान वा छानबिनलाई स्वागत गर्ने बताएको छ। सत्यतथ्य स्थापित गर्न आवश्यक परे आयात रेकर्ड, भन्सार घोषणा विवरण, ढुवानी अभिलेख, सीमा प्रवेशसम्बन्धी कागजात, भुक्तानी विवरण तथा जाँचपास स्वीकृतिसम्बन्धी सम्पूर्ण कागजात सम्बन्धित निकायलाई उपलब्ध गराउन तयार रहेको कम्पनीले जनाएको छ।
सञ्चारमाध्यम र सरोकारवाला पक्षलाई तथ्य पुष्टि नगरी निष्कर्षमा नपुग्न आग्रह गर्दै कम्पनीले सार्वजनिक भ्रम सिर्जना गर्ने वा कानुनी रूपमा सञ्चालन भइरहेका व्यवसायको प्रतिष्ठामा असर पुग्ने सामग्री प्रकाशन नगर्न अनुरोध गरेको छ।
साइमेक्सले विद्युतीय सवारीसाधन क्षेत्रले नेपालको वातावरणीय लक्ष्य हासिल गर्न, इन्धन आयात घटाउन तथा दिगो यातायातको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याइरहेको उल्लेख गरेको छ। त्यसैले यस क्षेत्रप्रति सार्वजनिक विश्वास कायम राख्न तथ्यमा आधारित समाचार र जिम्मेवार सार्वजनिक बहस आवश्यक रहेको कम्पनीको धारणा छ।
कम्पनीले आफूले विगतदेखि नेपालको अटोमोबाइल तथा स्वच्छ ऊर्जा रूपान्तरणमा योगदान दिँदै आएको उल्लेख गर्दै कानुनको पालना, पारदर्शिता र जवाफदेहिताप्रति प्रतिबद्ध रहेको जनाएको छ। साथै सम्बन्धित निकायबाट भइरहेको अध्ययन र समीक्षा प्रक्रियाले वास्तविकता स्पष्ट पार्ने तथा सार्वजनिक रूपमा फैलिएका भ्रम अन्त्य गर्ने विश्वास व्यक्त गरेको छ।
आर्थिकन्यूज
प्रतिक्रिया