काठमाडौं । राइड शेयरिङ एप 'उबर' नेपाल भित्रिने प्रक्रिया सुरु गरेको छ । जसका लागि कम्पनीले नेपालमा लगानी गर्नका लागि प्रस्ताव पेश गरेको छ ।
कुनै पनि विदेशी लगानी नेपाल भित्रदाँ उद्योग विभागबाट स्वीकृती लिनु पर्ने हुन्छ । जसका लागि उबरले प्रस्ताव पेश गरेको विभागको स्रोतले जनाएको छ । स्रोतका अनुसार उबरले नेपालमा २ करोड रुपैयाँ लगानी गर्ने प्रस्तावमा उल्लेख गरेको छ । नेपाली लगानीकर्ताको ८५ लाख लगानीमा 'जोइन्ट भेन्चर'को रुपमा नेपाल भित्रिन लागेको हो ।
जस अनुसार नेपाली सहितको कुल २ करोड ८५ लाख रुपैयाँ लगानीमा उबरको सेवा विस्तार हुने भएको बुझिन्छ ।
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ अनुसार राइड शेयरिङ प्लेटफर्ममा विदेशी लगानीकर्ताले ७० प्रतिशत भन्दा बढी लगानी गर्न पाउँदैन । ऐनको अनुसूचीको दफा १० मा यस विषयमा स्पष्ट खुलाइएको छ ।
यदि विदेशी कम्पनीको राइड शेयरिङ सेवा नेपाल भित्र्याउनु परेमा ३० प्रतिशत नेपाली नागरिकको लगानी हुनुपर्ने कानूनी प्रावधान रहेको छ ।
सोही अनुसार उबरले २ करोड आफूले लगानी गर्ने र ८५ लाख रुपैयाँ नेपाली लगानीकर्ताले लगानी गर्ने गरी सेवा दिन लागेको हो । उद्योग विभागमा विदेशी लगानी स्वीकृतीका लागि प्रस्ताव पेश समेत गरिसकेको छ । विभागमा वैशाख ४ गते सोमबार प्रस्ताव पेश भएको हो ।
केही महिना अघि अमेरिकामा रहेको उबरको हेड अफिसबाट केही प्रतिनिधि नेपाल आएर नेपालको बजारको बारेमा जानकारी लिएका थिए । उनीहरुले नेपालको राइड शेयरिङ बजारबारे अध्ययन गर्ने जिम्मा नेपालका प्रतिनिधिलाई दिएका थिए ।
ति प्रतिनिधिले अमेरिकाबाट आएका उबरका टोलिहरुलाई नेपालको बजारबारे जानकारी गराएको स्रोतले जनाएको छ । यसरी जानकारी गराउँदा उबर कम्पनीका प्रतिनिधिहरु सकारात्मक मात्रै होइन नेपाल आउन उत्साहित भएर फर्किएको स्रोतले आर्थिक न्यूजलाई जानकारी दिएको छ ।
उसोत, उबर नेपाल भित्र्याउनका लागि चौधरी ग्रुपले २०७३ सालमा नै तयारी सुरु गरेको थियो । नेपालको बजार अध्ययन पनि गराएको थियो । तर, चौधरी ग्रुपको त्यो योजना असफल भएको थियो । सोही समयमा नेपालमा टुटल उदायको थियो । टुटल नेपाली ब्राण्ड हो । टुटलले बजार विस्तार गरिरहँदा सोही समयमा नेपालमा पठाओ भित्रियो । प्राविधिक रुपमा पनि ठूलो लगानी भएको पठाओको अगाडि टुटलले खासै प्रतिस्पर्धा गर्न सकेन ।
टुटलका राइडर पठाओतिर लाग्न थाले, कस्टमर पनि सोही अनुसार पठाओतिर मोडिन थालेछि टुटल बन्द भएको थियो ।
२००९ मा स्थापना भएको उबर अमेरिकन कम्पनी हो, जसले विश्वका ७० भन्दा बढी देशमा सेवा दिँदै आएको छ । हाल नेपालमा विदेशी कम्पनीका ३ वटा राइड शेयरिङ प्लेटफर्म सञ्चालनमा रहेको छ । पठाओ, इन्ड्राइभ र याङ्गो । उबर नेपाल भित्रिएको खण्डमा विदेशी राइड शेयरिङ कम्पनीको संख्या ४ पुग्छ । यससँगै नेपालका राइड शेयरिङमा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
उपभोक्ताको हितका लागि हेर्ने हो भने जति धेरै प्रतिस्पर्धा भयो त्यति नै राम्रो मानिन्छ । धेरै प्रतिस्पर्धा हुँदा शुल्क घट्ने, सेवा गुणस्तरिय हुने जानकारहरु बताउँछन् ।
लक्ष्मण लम्साल

प्रतिक्रिया