काठमाडौं । काभ्रेको बीपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा शुक्रबार यात्रुवाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन बिष्टका अनुसार दुर्घटनामा सात जनाले घटनास्थलमै ज्यान गुमाएका हुन्। मृतकहरूको पहिचान खुलाउने तथा घटनाको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका १५ जनाको स्थानीयवासी, प्रहरी र उद्धार टोलीको सहयोगमा उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
प्रहरीका अनुसार बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरेतर्फ जाँदै गरेको बा३ ख ८३९८ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकबाट तल खसेर दुर्घटनामा परेको हो। दुर्घटना लगत्तै स्थानीयवासी र सुरक्षाकर्मी घटनास्थलमा पुगेर उद्धार कार्य सञ्चालन गरेका थिए।
दुर्घटनाको कारण भने तत्काल खुल्न सकेको छैन। बसको प्राविधिक अवस्था, सडकको अवस्था, चालकको नियन्त्रण तथा अन्य सम्भावित कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बीपी राजमार्गमा पछिल्लो समय सवारी दुर्घटनाका घटना दोहोरिन थालेपछि सडक सुरक्षाबारे पुनः प्रश्न उठ्न थालेको छ। प्रहरी र सम्बन्धित निकायले दुर्घटनाको विस्तृत छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्ने बताएका छन्।
आर्थिकन्यूज
प्रतिक्रिया