काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत मोतिबिन्दुबाट प्रभावित १०० जना बिरामीको निःशुल्क शल्यक्रियामा आर्थिक सहयोग गरेको छ।
कम्पनीले उक्त कार्यक्रमका लागि करिब ६ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको जनाएको छ। यस सहयोगमार्फत धनुषा र महोत्तरी जिल्लाका ग्रामीण क्षेत्रका १०० जना मोतिबिन्दु बिरामीले प्रत्यक्ष रूपमा निःशुल्क उपचार सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।
आइएमई लाइफ इन्स्योरेन्सले विगतदेखि नै देशका विभिन्न जिल्लामा स्वास्थ्य सेवा, मोतिबिन्दु पहिचान तथा शल्यक्रिया कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस कार्यक्रमले आर्थिक अभावका कारण उपचारबाट वञ्चित नागरिकहरूलाई राहत पुर्याउने लक्ष्य लिएको छ।
कम्पनीका अनुसार यस किसिमका सामाजिक उत्तरदायित्वका गतिविधिहरूले समुदायमा सकारात्मक प्रभाव पार्ने र आधारभूत स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
कम्पनीका उप–कार्यकारी प्रमुख क्षितिज पौडेलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा समुदाय विकासका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको बताए।
उनका अनुसार, आइएमई लाइफ इन्स्योरेन्सले “Ensuring Future” भन्ने मूल नाराअनुसार दीर्घकालीन सामाजिक विकासलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
कम्पनीका अध्यक्ष सुरज श्रेष्ठले यो सहयोगले ग्रामीण क्षेत्रका विपन्न परिवारको जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्।
उनले स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्नु संस्थाको प्रमुख सामाजिक प्रतिबद्धता भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए।
आइएमई लाइफ इन्स्योरेन्सले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र वित्तीय साक्षरता जस्ता क्षेत्रमा निरन्तर सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया