शीर्षकहरू

साहसी शर्मिलाः जसले डिप्रेशनलाई हिमालमा लगेर पछारिन्

साहसी शर्मिलाः जसले डिप्रेशनलाई हिमालमा लगेर पछारिन्

काठमाडौं । काभ्रेमा जन्मिएकी शर्मिला स्याङतान सानै उमेरदेखि जिद्दी स्वभाव की थिइन् । उनी कसैले भनेको मान्दैन थिइन् । जिद्दी स्वभाव कै कारण बेला बेला उनले गाली पनि खान्थिन् । अरुभन्दा फरक स्वभावका कारण विद्यालयमा पनि उनी पढाइमा भन्दा खेलकुद र अन्य क्रियाकलापहरुमा धेरै सक्रिय हुन्थिन् । उनलाई धेरै जसो खेलकुद र एडेभेन्चर मन पथ्र्यो । 

घरमा सबै भाइ बहिनी ज्ञानी थिए । तर उनको बदमासी स्वभाव र जिद्दीपनका कारण दिनकै गाली खाने गरेको स्याङतान सुनाउँछिन् । उनको बाल्यकाल गाँउमै बित्यो ।  शर्मिलाले कक्षा १२ सम्मको अध्ययन गाउँबाट पुरा गरिन् । त्यसपछि स्नातक तहको अध्ययन गर्न काठमाडौं छिरेपनि उनको त्यो सपना भने अधुरै रह्यो । उनी पढ्नभन्दा खेलकुदमा नै बढी रुची राख्थिन् । उनी भन्छिन्, ‘म त्यति धेरै पढ्ने विद्यार्थी भने हैन । अन्य क्रियाकलापहरुमा भने धेरै सहभागी हुने गर्थे । तर, त्यो समयमा विद्यालयमा त्यस्ता क्रियाकलापहरु कमै हुने गर्थे ।’

उनका बुबा पेशाले टुरिष्ट गाइड हुन । बुबाकै प्रेरणाबाट हिमाल चढ्ने आँट र हिम्मत जागेको शर्मिला बताउँछिन् । उनी भन्छिन्, ‘बुबाले ३६ सालमा दरबार हाइस्कुलबाट एसएलसी पास गर्नुभयो । त्यसपछि उहाँ टुरिष्ट गाइड गर्न थाल्नुभयो । २०६० सालसम्म टुरिष्ट गाइड गर्दा गर्दै दन्दकालमा बुबाले त्यो पेशा छोड्नु पर्यो ।’

बुबाले टुरिष्ट गाइड गर्दाका अनुभवहरु सुनाइरहँदा उनी आफू पनि त्यो ठाउँमा पुगेको कल्पना गरिरहन्थिन् । उनी एसएलसी सके लगतै बुबासँगै ट्रेकिङमा पनि गइन् । गाउँमा कक्षा १२ को अध्ययन सकेपछि काठमाडौं आएर एउटा पसलमा काम गर्न थालिन् । काम कै शिलशिलामा एकजना उर्जा भन्ने दाईसँग उनको भेट भयो । उनी एलायन्स  एड्भेन्चर एजेन्सीका निर्देशक थिए । शर्मिला पनि उर्जाको टिमसँग ट्रेकिङ जान थालिन् । त्यहाँबाट थोरै आम्दानी पनि भएको उनले सुनाइन् । 

२२ वर्षको उमेरमा उनी वैवाहिक जिवनमा बाँधिइन् । बच्चा पेटमा हुँदा समेत काम गरेर सुत्केरी खर्च समेत आफैले पुर्याएको उनले सुनाइन् । सुत्केरी भएको तीन महिनासम्म शर्मिलाले कामबाट विश्राम लिइन् । तर त्यसपछि भने उनलाई फेरी काम गर्नुपर्ने बाध्यता आइलाग्यो । 

उनी भन्छिन्, ‘ त्यो तीन महिनाको अवधिमा परिवारबाट आफूलाई हेपिएको अनुभुति भयो ।  मैले लुगा पनि अरु कै लागि लगाइदिनु पर्ने, आफूले बोलेको कुरा पनि अरुलाई नराम्रो भइदिने, अरुको लागि मिठो बोल्नुपर्ने जस्ता धेरै कुरामा फोर्स गरेको अनुभव भयो ।’ 

परिवारबाट हेपिन थालेपछि आफू भित्र आफूलाई खोज्न थालेको उनी सुनाउँछिन् । फेरी उनी काममा फर्किने सोच बनाइन् । काम कै शिलशिलामा उनले रोल्वालिङको ६ हजार मिटरभन्दा अग्लो रामदुङ हिमाल चढिन् । 

सन् २०१७ मा उनले पाँच जना साथीहरुसँग सगरमाथा हिमाल आरोहण गर्ने  टिम बनाइन् । त्यो समयमा उनको छोरा १४ महिनाको थियो । हिमाल आरोहणको सफलता पछि सबै साथीहरु शेर्पा समुदायको भएका कारण आफै क्याम्प गरेर सगरमाथा चठ्ने अठोट लिएर गइन् ।  तर बिडम्बना सगरमाथाको ८ हजार ७ सय मिटर उचाइमा पुगेर पनि उनी टुप्पोमा पुग्न नसकी फर्किनु पर्यो । 

शर्मिला भन्छिन्, ‘शरीर पनि थोरै अस्वस्थ थियो । आफूमाथि राजनीति भएको अनुभव भयो । जसले गर्दा ८ हजार ७ सय मिटर उचाइमा पुगेर पनि फर्किनु पर्यो । फर्किएर आए पछि ट्रेनिङ पनि लिए । शरीरलाई पनि फिट राखे । बच्चालाई १०२ डिग्री ज्वरो आउँदा पनि छोडेर हिडे । मरे पनि मरोयोस तर सगरमाथाको चुच्चोमा जसरी पनि पुग्छु भन्ने अठोटमा थिए ।’

यस बीच शर्मिला डिप्रशनको शिकार समेत भइन् । उनी भन्छिन्, ‘म एउटा दलदलमा फसिरहेको थिए । त्यो दलदलबाट निस्कन मान्छे डिपे्रशनमा पनि पुग्छ आत्महत्या पनि गर्छन । पारिवारिक तनावका कारण आफू आत्महत्या गर्नेसोच समेत बनाएको थिए तर मैले त्यो दलदलबाट निकाल्न आफूलाई हिमालमा पछारे ।’ 

सगरमाथा चढ्ने शर्मिलाको त्यो अठोट अन्तत पुरा भयो । उनी २०१९ मे २२ मा सफलतापूर्वक सगरमाथाको आरोहण गर्न सफल भइन् । सगरमाथाको आरोहणपछि उनलाई युरोप जान मौका मिल्यो । युरोपको हिमाल आरोहण गर्ने मौका मिलेपछि अरु प्रति थोरै विश्वास पनि जाग्न थालेको उनले सुनाइन् । 

उनले भनिन्, ‘मैले सगरमाथा र युरोपको एलब्रुस हिमालको सफल आरोहण गरे । त्यसपछि मान्छेहरुमा म प्रति विश्वास जाग्न थाल्यो । किलर माउन्टेन भनेर सबैले चिन्न थाले । जसका कारण युरोपबाट फर्केको एक महिनामा मनास्लुमा चठ्ने मौका पाए ।’

उनी भन्छिन्, ‘केही खर्च साथीहरुसँग लिए र घरमा पनि मागे । आफूसँग भएको सबै पैसा सकेर मनास्लु चढ्न गए । काठमाडौंबाट निस्केको ९ दिनमा २८ सेप्टेम्बर २०१९ मा मनास्लु चढे । कसैले विश्वास नै गरेको थिएन । आफ्नो डिप्रशनको औषधि नै हिमाल आरोहण रहेछ भन्ने भयो ।’ 

हिमाल आरोहणबाट आफूले पनि केही गर्न सक्छु, आफ्नो समुदाय र देश प्रति आफूले पनि केही गर्नुपर्छ भन्ने लागेपछि विश्वमा रहेका ८ हजार मिटरमाथिका १४ वटा हिमाल आरोहण गर्ने अठोट गरेको उनले बताइन् ।

कोरोना महामारीका कारण योजना अनुसार अघि बढ्न नसकेपनि लकडाउन कै बिचमा १६ अप्रिल २०२१ मा उनले अन्नपूर्ण हिमाल आरोहण गरिन् । अन्नपूर्ण हिमाल आरोहण गर्ने पहिलो महिलामध्ये उनी पनि एक हुन् । त्यस पश्चात् काठमाडौं फर्केर पनि के गर्ने भन्ने अन्योल भएपछि उनी ल्होत्से हिमाल चढ्न तिर लागिन् । 

उनी भन्छिन्, ‘काठमाडौंमा लकडाउन नै थियो । कोठामा कोचिएर बस्नु भन्दा हिमाल चठ्न जान्छु भनेर फेरी ल्होत्सेतिर लागे । मे २२ २०२१ मा सफल आरोहण गरे ।’  हालसम्म उनले ६ हजार मिटरभन्दा माथिका दर्जनौ हिमाल आरोहण गरिसकेकी छन् ।

यससँगै उनले ८ हजार मिटर माथिका चारवटा हिमाल आरोहण गरिसकेकी छन् । १४ वटा  हिमाल चठ्ने योजना रहेको उनले बताइन् । उनी भन्छिन्, ‘विश्वमा ८ हजार मिटर माथिका १४ वटा हिमालहरु छन् । चार वटा हिमाल आरोहण गरिसके । अब बाँकी रहेका ८ वटा हिमाल आरोहण गरेर नेपाललाई अन्तराष्ट्रिय स्तरमा चिनाउन चाहन्छु ।’

नेपाल सुन्दर देश हो यहाँका प्राकृतिक स्रोतहरु धेरै छन् । तिनिहरुलाई अन्तराष्ट्रिय स्तरमा चिनाउनुपर्ने उनको भनाई । मनास्लु हिमाल आरोहण गर्ने क्रममा ३८ घण्टासम्म निरन्तर आरोहण गर्नुपरेको र चार घण्टा पहिरोमा नै फस्नु परेको उनी सुनाउँछिन् । उनी भन्छिन्, ‘ हिउँ पहिरो पनि आइरहेको थियो । अब यहाँबाट निस्कन सकिदैन । यही मरिन्छ जस्तो लागेको थियो । सबै साथीहरु रुन थालेका थिए । तर म चै रोइन ।’

अन्नपूर्ण हिमालमा आरोहण गर्ने क्रममा हिमपहिरोमा फसेको उनले सुनाइन् । त्यो बेलाको क्षण सम्झेर भक्कानिदै शर्मिला सुनाउँछिन्, ‘त्यो बेला हिउँ पहिरो र डल्लाहरु पनि खसिरहेका थिए । पिसाब गर्ने ठाउँ पनि थिएन । १८ घण्टासम्म पिसाब गर्न पाएनौ ।  माथिबाट नि पहिरो खसिरहेको थियो तलबाट पनि तानिरहेको थियो । चार/पाँच जना एकै ठाउँमा भित्ता खोपेर बसेका थियौ । अब चै फर्किन्न जस्तो लागेर त्यो समयमा छोरालाई सम्झिएर धेरै रोए ।’

हिमाल आरोहणमा छोरीहरु अुसक्षित हुने गरेको उनको अनुभव छ । ‘हिमाल आरोहणमा छोरीहरु सरक्षित छैनन् । त्यसमाथि पनि हिमाल शेर्पाहरुले मात्र चठ्छन् भन्ने मानसिकता छ  । सानो सानो कुराहरु पनि उनीहरुको हात हुने गर्छ । तसर्थ हिमाल चठ्न त्यति सजिलो छैन’, उनले सुनाइन् । 

२०१८ मा सगरमाथाको बिचबाट फर्किनु परेको र अरुले आफूमाथि गरेको व्यवहारले पोलिरहेका कारण जसरी पनि सगरमाथाको आरोहण गर्नुपर्छ भन्ने लागेको सुनाइन् । उनी भन्छिन्, ‘मरेपनि मरियोस् तर जसरी भएपनि सगरमाथाको टपमा पुगेर विश्वको सबैभन्दा ठूलो उचाईमा छु भन्ने अनुभव लिन्छु भन्ने थियो ।’

२०१९ मा सगरमाथाको सफल आरोहण गरेपछि आफु धेरै रोएको उनी सुनाउँछिन् । उनी भन्छिन्, ‘२०१८ मा सगरमाथाको टुप्पोमा पुग्न २ सय मिटर बाँकी हुँदा आफू फर्किनु परेको थियो । मैले धेरै गाली खानु परेको थियो । अलिकति अस्वस्थ पनि थिए । साथीको पनि योजना रहेछ मलाई सगरमाथाको टप समिट नगराउँने । थोरै सहयोग गरिदिएको भए त्यति बेला नै मैले सगरमाथा चठ्ने थिए । दोहोरो खर्च हुन्न थियो ।’

आरोहण कै क्रममा कञ्चनजङघा र मकालु जाने उनको योजना छ । उनले भनिन्, ‘अहिले सिन्धुलीको मरिन गाउँपालिका र सिन्धुपाल्चोकको पाँचपोखरी थाङबाल गाँउपालिकाले थोरै सहयोग गर्ने भएको छ । व्यक्तिगत रुपमा पनि सहयोग गर्नेहरु खोजिरहेको छु । यहि मार्चमा नै कन्चनजङगा आरोहण गर्ने योजनामा छु ।’

उनी हिमाल आरोहणमा मात्र हैन व्यवसायमा पनि सक्रिय छिन् । उनले काठमाडौंको बौद्धमा एउटा क्याफे पनि सञ्चालन गरेकी छिन् । उनी भन्छिन्, ‘हिमाल चठेर मात्र पैसा आउँदैन बाँच्नका लागि पनि केही गर्नु पर्यो भनेर सानो क्याफे खोलेको छु । हिमाललाई नै व्यवसायिक रुपमा अघि बढाउन पहल पनि गरिरहेको छु । आर्थिक रुपमा बाँच्नका लागि पनि क्याफे चलाएको हो ।’

शर्मिला भन्छिन्, कोरोना महामारीका कारण टुरिजम क्षेत्रलाई धेरै असर गरेकाले के गर्ने भन्ने भयो । यसैबिचमा क्याफे खोल्ने योजना बनाए । दुई हप्ता तालिम लिएर आफैले क्याफे सञ्चालन गरे । क्याफेबाट जिविकोपार्जन गर्न भने पुगीरहेको छ ।’

युरोपको एल्बस हिमाल आरोहण गरेपछि धेरै कुरा सिक्ने मौका मिलेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘हिमाल आरोहणका क्रममा मैले युरोपको एल्बस हिमाल आरोहण गरेपछि प्राकृतिक सा्रेतहरुको कसरी उपयोग गर्ने र अन्तराष्ट्रिय स्तरमा कसरी चिनाउने भन्ने कुराहरु सिक्न पाए । उनीहरु एउटा हिउँको डल्ला बेचेर करोडाै कमाउने रहेछन् । हामीसँग त हेरेर नभ्याउने हिउँका पहाडहरु कति धेरै छन् । अन्तराष्ट्रिय स्तरमा चिनाउन र बेच्न पनि १४ वटा हिमाल आरोहण गर्न चाहन्छु ।’

यसका साथै पर्यटकिय क्षेत्रमा नै आफूलाई स्थापित गराउँने लक्ष्य रहेको उनले बताइन् । अहिलेका नयाँ पुस्ता विशेष गरी छोरीहरुलाई पनि पर्यटकीय क्षेत्रमा सहभागि गराएर उनीहरुलाई सक्षम बनाउने उनको योजना छ । 

‘हरेक क्षेत्रमा महिला सक्षम हुनुपर्छ हेपिएर बस्नुहुँदैन भन्ने मान्यता राख्ने उनले यसअघिको नारी दिवसका दिन पनि १० जना महिलाहरुलाई वारिस्ताको तालिम दिए’, उनी भन्छिन्, ‘जुन किसिमको हेपाइ मैले सहेको थिए त्यस्तै व्यवहार अबका छोरीहरुले भोग्नु नपरोस् ।’

यसका साथै आफ्नो समुदायका महिला तथा आमाहरुलाई ३ महिने बौद्ध शिक्षा कोर्ष, विद्यालयका किशोरीहरुलाई स्यानिटरी प्याडको उपयोग कसरी गर्ने भन्ने कार्यक्रमहरु पनि चलाएको उनले बताइन् । उनी भन्छिन्, ‘जबसम्म छोरीहरु आर्थिक रुपमा सक्षम हुँदैनन् । तसर्थ जे काम गरेपनि हरेक छोरीहरु आर्थिक रुपमा माथि उठ्नुपर्छ । तब मात्र घर समाज र देश अघि बढ्छ ।’
 

प्रतिक्रिया