नेपालमा सरकारी स्वामित्वमा चलेका उद्योगको इतिहास राम्रो छैन। त्यही सत्यलाई टेकेर बहुदल पुनर्स्थापना भएपछि खुल्ला बजार अर्थतन्त्रको अभ्यास गर्न र बजार उदारीकरणमा जोड दिन धेरै मूल्यवान् सरकारी उद्योगहरू कौडीको भाउमा बेचिए। तर पनि विपक्षी स्वर कडा हुन सकेन किनकि ती कम्पनीहरू लामो समयदेखि घाटामा थिए। अझै पनि केही सरकारी स्वामित्वका उद्योगहरू छन् जसलाई बेचेर राम्रो कमिसन कुम्ल्याउने प्रयत्नमा पटक पटक देशको राजनीतिक सक्रिय बन्दै आएको छ। यसरी, जनविरोधको कारण अमुक व्यापारी र नेताहरूको कृत्सित अभिलाषा पुरा हुनबाट जोगिएको सरकारी उद्योग मध्येको एक हो, उदयपुर सिमेन्ट उद्योग।
सरकारी उद्योगहरू र बिषेशत सिमेन्ट उद्योगको समग्र स्थितिका बारेमा आर्थिकन्युज डटकमकी रिता राउतले उदयपुर सिमेन्ट उद्योग लिमिटेडका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेसँग संवाद गरेकी छिन् । प्रस्तुत छ, सो वार्ताको सम्पादित अंश
सरकारी सिमेन्ट उद्योगहरूको हालको अवस्था कस्तो छ ?
नेपालमा अहिले दुई वटा सरकारी सिमेन्ट उद्योगहरु छन्। ती हुन्, उदयपुर सिमेन्ट उद्योग र हेटौडा सिमेन्ट उद्योग । समग्रमा हेर्ने हो भने सरकारी सिमेन्ट उद्योगका केही राम्रा पक्षहरू पनि छन् । तर, वित्तीय हिसाबले हेर्ने हो भने स्थिति त्यति राम्रो छैन । त्यसमा पनि उदयपुर सिमेन्ट उद्योगको कुरा गर्ने हो भने सम्पत्ति त धेरै छ तर व्यालेन्ससिट पल्टाएर हेर्ने हो भने आर्थिक अवस्था त्यति राम्रो स्थितिमा छैन ।
अन्य उद्योग र सरकारी उद्योगका समस्यामा के के फरक छन् ?
अन्य र सरकारी उद्योगमा के पृथक् भनेर कुरा गर्ने हो भने सरकारी उद्योग नागरिकप्रति अलिक बढी उत्तरदायी हुन्छ । सरकारी उद्योगले आफ्नो उत्पादनको मूल्य निर्धारण गर्दा होस् वा मूल कुरा गुणस्तर, आपूर्ति प्रणालीमा होस् उपभोक्ताको हितलाई केन्द्रमा राख्छौँ। हामी धेरै मानिसमा हाम्रो गुणस्तरीय सिमेन्ट पुगोस् भन्ने चाहान्छौं ।
सरकारी उद्योगहरू नागरिकमुखी भएकोले यसले नाफालाई भन्दा बढी क्वालिटीमा ध्यान दिने गर्छ । तर, हामीकहाँ केही समस्याहरू पनि छन् । हाम्रो उद्योग धेरै पुरानो भयो । अहिले आएका नयाँ निजी उद्योगको उत्पादन नियमितरुपमा हुने गर्छ । हाम्रोमा ब्रेक डाउन धेरै हुने गर्छ । धेरै समानहरू जीर्ण बन्दै गएका छन् । त्यसको मर्मत सम्भार हुन सकिरहेका छैनन् । मेन्टेनेन्सको हिसाबले उद्योगहरू अलिक बढी ब्रेक डाउन हुने भएकोले हामीलाई आर्थिक रूपमा र बजारमा नियमित उपस्थिति जनाउन केही गाह्रो भएको छ । तर, पछिल्लो समय हामी यी समस्यालाई हल गर्दै बजारमा नियमितरुपमा उपस्थिति हुँदै आएका छौँ ।
सरकारी सिमेन्टको ब्राण्डिंग पनि कम छ, किन त्यो नगर्नु भएको ?
ब्राण्डिंग भनेको त्यसको क्वालिटीको कुरा, त्यसको पहिचान गर्ने कुरा, मानिसले झट्ट सुन्दा आहा त्यो अति राम्रो छ भन्ने मानसिकता होस भन्ने कुरा, हाम्रा क्वालिटीदेखि फिचरका कुराहरू आउँछन् । यस सम्बन्धमा हाम्रो गैँडा छाप सिमेन्ट आफैमा एउटा ब्राण्डिंग हो । यो आजदेखि होइन धेरै वर्ष पहिलादेखि जनमानसमा परेको छ । जति मानिसहरूले बुझेका छन् उनीहरूले घर बनाउनु पर्यो भने पहिले गैँडा छाप सिमेन्ट नै रोज्छन् । त्यसैले गैँडा छाप सिमेन्टलाई थप ब्राण्डिंग भन्दा पनि हामीले नियमितरुपमा बजारमा सिमेन्ट पठाउन सक्यौ भने यसैले काम गर्छ । अन्य केही गर्नु पर्छ जस्तो लाग्दैन ।
सिमेन्टमा नेपाल आत्मनिर्भर भयो भनिन्छ तर, अहिले पनि केही प्रकारका सिमेन्ट विदेशबाट नै ल्याइन्छ किन त्यस्तो ?
अहिले नेपालले सिमेन्ट आयातमा रोक लगाउन मिल्दैन । त्यो स्थिति पनि छैन । तर, नेपालमा जति सिमेन्ट उत्पादन हुन्छ त्यसले नेपाललाई धान्न सक्छ । अहिले सिमेन्ट नै आयात भएको छ जस्तो चाहिँ मलाइ लाग्दैन । बरु क्लिंकर आयात भइरहेको छ । जोसँग सिमेन्ट उद्योग मात्र छ तर, खानी छैन त्यस्ताले चाहिँ क्लिंकर आयात गरिरहेका छन् । अहिले १० अर्ब बराबरको क्लिंकर आयात हुन्छ भन्ने अनुमान छ । त्यस्तो अवस्था भएकालाई उदयपुर सिमेन्ट उद्योगले क्लिंकर उत्पादन गरेर दियो भने त उनीहरूको उद्योग पनि चल्ने भयो । आयात पनि नहुने भयो । यता उद्योगले पैसा पनि कमाउने भयो ।
उदयपुर सिमेन्टले सिमेन्ट मात्रै उत्पादन गर्छ कि क्लिंकर पनि ?
हामीसँग आफ्नै खानी छ । त्यो खानीमा एउटै रक छ । त्यो खानी एक सय नौ मिटर गहिरो र पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यसले गर्दा हामी आफै क्लिंकर उत्पादन गर्छौँ । हाम्रो चुनढुंंगाको उच्च गुणस्तर भएकोले हाम्रो क्लिंकरको गुणस्तर दक्षिण एसियामै राम्रो मानिन्छ । अन्य ठाउँको भन्दा हाम्रोमा गुणस्तरीय क्लिंकर भएकोले अरू उद्योगहरूले उत्पादन गरेको भन्दा हाम्रोमा उत्पादन भएको सिमेन्ट राम्रो हुन्छ । यसको मतलब सिमेन्ट प्रयोग गर्दा हाम्रो सिमेन्ट ६ बोरा लाग्यो भने अरूको ८ बोरा लगाउनु पर्छ । यो धेरै नै महत्त्वपूर्ण कुरा हो ।
केही वर्ष अघिसम्म धराशायी बन्दै गएका सरकारी सिमेन्ट उद्योगले फेरि शिर उठाउने अवस्था कसरी बन्यो ?
मेलै यहाँ आएपछि विचार गर्दा यहाँ अलिकति क्यास फ्लो म्यानेजमेन्ट त्यति राम्रो देखिन । यसमा मैले धेरै नै ध्यान दिए । हाम्रो उद्योगमा भएको स्टकहरू जति छ त्यसलाई सेल गर्न हामीले सेल पोलिशीहरु निकाल्यौँ । ग्राहकहरूलाई अलिक बढी प्रोत्साहन गर्यौँ । यी कुराहरूले गर्दा अहिले हाम्रो उद्योग सकारात्मक गतिमा छ । एकै पटक सबै सुधार गर्न गाह्रो छ । बिस्तारै सुधार गर्दै गइरहेका छौँ । तथापि जति पनि कमी कमजोरी छन् ती सबैको सुधार गर्न सकिन्छ भन्ने हाम्रो म्यानेजमेन्ट टिमको विश्वास छ ।
गैँडा छाप सिमेन्टको बजार कस्तो छ ?
गैँडा छाप सिमेन्टको बजार राम्रो छ । म माघ १ गते यहाँ आएदेखि अहिलेसम्म बजारमा नियमितरुपमा उपस्थिति छौँ । बजारमा गैँडा छाप सिमेन्ट जुनसुकै समयमा खोजे पनि ग्राहकले पाउनु हुन्छ ।
उद्योगको आफ्नै क्लिंकरले कति वर्षसम्म धान्ला ?
अहिले नै यतिकै चलाइराख्ने हो भने यसले चार सय वर्षसम्म पुग्छ । तर, हामीले यसबारे योजना बनाउँदै छौँ । ठुलो क्लिंकर कै फ्याक्ट्री राखेर हामी नेपालका सिमेन्ट उद्योगहरूको जसको क्लिंकर छैन ती उद्योगहरूलाई पनि दिन सक्छौँ । त्यति मात्रै होइन राम्रो र कमसल दुवै खालको क्लिंकर मिसाएर पनि एउटा राम्रो सिमेन्ट उत्पादन हुन सक्छ । त्यसैले जोसँग कमसल क्लिंकर छ त्यसले पनि हाम्रो गुणस्तरीय क्लिंकर मिसाउनका किन्न सक्छ ।
हाम्रो देश नजिक भारतको विहार प्रदेशमा क्लिंकर फ्याक्ट्री छैन । त्यसैले हामीले निकासी गर्ने सक्ने पनि प्रबल सम्भावना छ । यसका लागि नेपाल सरकारको कूटनीतिक पहल पनि हुनु पर्छ । कूटनीतिक पहल भयो भने निकासी गर्ने सम्भावना छ । यसले गर्दा दिनको ६ हजार मेट्रिक टनको दरले क्लिंकर उत्पादन गर्ने फ्यक्ट्रि किन नलगाउने ? यस्तो गरियो भने चाडै यो खानी सकिन्छ र नयाँ नयाँ खानी खोज्दै नयाँ खानीको उपयोग गर्न सक्छौँ ।
यो ९५ प्रतिशत मूल्य अभिवृद्धि हुने फ्याक्ट्री हो । त्यसैले यस्तो कुराहरूमा हामी लगायत सरकारले ध्यान दिनु पर्छ । राजश्व पनि ठुलो परिचालन हुन्छ । अर्बौँ रुपैयाँ राजश्व आउँछ । अहिलेको परिस्थितिमा पनि वार्षिक ७० देखि ८० करोडसम्म राजश्व आउँछ । त्यति मात्र होइन रोजगारीसँगै यो क्षेत्रका मानिसहरूको जीवनस्तर र आर्थिक गतिविधिका लागि पनि मद्दत पुर्याउँछ ।
अब व्यवस्थापनको कुरा गरौँ। विगत १४ वर्षदेखि हुन नसकेको साधारण सभा एकसाथ सम्पन्न गर्नु भयो ? यो कसरी सम्भव भयो ?
म कानुनको विद्यार्थी पनि हो । म्यानेजमेन्ट पनि पढेको विद्यार्थी हो । कम्पनी ऐन पनि बुझेको छु । म माछापुच्छ्रे बैङ्कमा १० वर्ष सञ्चालक भएर पनि बसेँ। मलाई विभिन्न साधारण सभाको गतिविधि पनि थाहा छ । पब्लिक कम्पनीलाई धेरै लामो समयसम्म यसरी राख्न हुँदैन । साधारण सभा पनि गर्नु पर्छ । कानुनीरुपमा मान्यता प्राप्त उद्योगको रूपमा लैजानु पर्छ भन्ने लाग्यो । यसले गर्दा मैले सबै गृहकार्य पनि गरेँ । ब्यालेन्ससिटहरु तयार गरेर पछिल्ला वर्षको अडिट गराएर साधारण सभा सम्पन्न गर्यौँ । अब साधारण सभाले निर्देश गरेका कुराहरू कार्यान्वयन तर्फ अगाडी बढिरहेका छौँ ।
उदयपुर सिमेन्ट उद्योगको ऋण तिर्न आइपिओ निष्कासन गर्न लागिएको भन्ने हल्ला छ, यसबारे स्पष्ट पारिदिनुस् ?
हाम्रो शेयर विभिन्न प्रकारका हुन्छन् । त्यसमा हामीले अहिले शेयर निष्कासन गर्ने भनेर साधारण सभामा प्रस्ताव पारित पनि गरिसकेका छौँ । अहिले नेपाल सरकारलाई जापान सरकारले अनुदान दिएको रकम अर्थमन्त्रालयले हामीलाई ऋणकारुपमा दिइरहेको छ । त्यो ऋणको पैसा चाहिँ साधारण शेयरमा लैजाने भनेर साधारण सभामा प्रस्ताव पारित गरिएको हो । अहिले तत्कालै चाहिँ ३ अर्ब बराबरको शेयर सरकारले जहाँ भन्छ त्यही प्लस गर्ने हो । त्यो भनेको पहिलेको सेयर धनीहरूमा नै प्लस हुने हो । सरकारको लोन शेयरवालालाई मात्रै भनेको हो । छोटोमा भन्ने हो भने सरकारले 'तिम्रो ऋण सेयर धनीमा लैजाऊ हामीलाई किन बोकाउँछौ' भनेको मात्र हो ।
अहिले नै पब्लिकमा गइहाल्ने भन्ने होइन । तर, भोलिका दिनमा पब्लिकमा पनि जानुपर्ने पो हुन्छ की भनेर हामीले प्रस्ताव पारित चाहिँ गरिसकेका छौँ । त्यसका लागि केही क्राइट एरिया हुन्छन् । उद्योगलाई नाफामा पनि लैजानु पर्यो । उद्योग केही दह्रो पनि बनाउनु पर्यो । यसको भ्यालुएसन पनि हुनु पर्यो । यी सबै कुराहरूलाई म्यानेज गरेपछि मात्रै पब्लिकमा जानेबारे सोच्छौँ । यी सबै गर्न समय लाग्छ । अहिले तत्कालै आइपिओ जारी गर्दैनौँ । एक दुई वर्ष लाग्न सक्छ ।
उदयपुर सिमेन्टको अबको योजना के के छन् ?
मैलै दुई वटा योजना मात्रै राखेको छु । एउटा भनेको यहाँ ब्रेक डाउन धेरै छ । त्यो भनेको उत्पादन गर्यो भने दैनिक १२ हजार देखि १८ हजार बोरासम्म उत्पादन गर्न सक्ने । तर, उत्पादन भएन भने जिरो हुने गर्छ । महिनामा धेरै दिन बन्द हुने थोरै दिन मात्र उत्पादन हुने गर्छ ।
उदयपुर सिमेन्ट उद्योग रोगी छ । त्यसलाई औषधी दिने काम गरिरहेका छौँ । यसलाई औषधी दिएर, निको पारेर मजबुत बनाउँदै कमसेकम वार्षिक तीन सय दिन चाहिँ उत्पादन गर्ने भन्ने हाम्रो प्रयास भइरहेको छ । यसका लागि हामीले पुराना पार्टपुर्जाहरू फेर्ने र मर्मत हुनेहरूलाई मर्मत गर्ने तयारी पनि गरिरहेका छौँ । त्यस्तै, बिजुलीको कस्ट घटाउन हामीले सोलार पो राख्ने कि भन्ने पनि कुराहरू भइरहेको छ । यी योजनाहरूमा हामीले भित्रीरुपमा नै होमवर्क गरिरहेका छौँ । केही काम प्रक्रियामा नै गइसकेको छ । केही तयारी गर्दैछौँ । यी सबै काम गर्यौँ भने हाम्रो उत्पादन क्षमता पनि आठ सयबाट ११ सय मेट्रिक टन पुग्न सक्छ । चार सय भन्दा माथि उत्पादन भयो भने हाम्रो प्रोफिट हुन्छ । मेरो पहिलो लक्ष्य चार सय कसरी पुर्याउने भन्ने छ । त्यसपछि पाँच सय, छ सय कसरी पुर्याउने भन्ने तयारीमा छौँ । आगामी आर्थिक वर्षबाट यी सबै कामहरू योजनाबद्ध गर्दै लैजाने तयारीमा छौँ ।
आर्थिकन्यूज
प्रतिक्रिया