काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच ट्राफिक व्यवस्थापन सुधारका लागि सहकार्य गर्ने सहमति भएको छ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सोमबार उपत्यका ट्राफिक प्रहरी कार्यालयका नवनियुक्त प्रमुख सुरेशप्रसाद काफ्लेसँग भेट गरी काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन, सवारी सुरक्षा तथा जनचेतनामूलक कार्यक्रमबारे विस्तृत छलफल गरेको हो।
छलफलका क्रममा प्रमुख काफ्लेले नाडा र ट्राफिक प्रहरीबीच दीर्घकालीन र सिर्जनात्मक सहकार्य आवश्यक रहेको उल्लेख गर्दै ट्राफिक व्यवस्थापनमा आधुनिक प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिए।
उनले राजधानीमा ठूला क्षमताका मोटरसाइकलको बढ्दो प्रयोग र स्कुटरको तुलनामा मोटरसाइकल दुर्घटनाको जोखिम बढी हुने तथ्यसमेत उल्लेख गर्दै जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने बताए।
त्यसैगरी, उनले एआई प्रविधिमा आधारित ट्राफिक लाइट प्रणालीको सम्भावनाबारे नाडाले पहल गर्नुपर्ने सुझाव दिए। साथै, सवारी साधन खरिद गर्ने ग्राहक, सर्भिस सेन्टरका कर्मचारी तथा नयाँ चालकले ट्राफिक प्रहरीबाट करिब एक घण्टाको आधारभूत प्रशिक्षण लिनुपर्ने व्यवस्था आवश्यक रहेको उनले बताए।
नाडाका अध्यक्ष उप्रेतीले ट्राफिक प्रहरीसँग विगतदेखि नै भइरहेको सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम अघि बढाइने बताए।
उनले नाडाको ५०औं वार्षिक साधारण सभा तथा स्वर्ण महोत्सवको अवसरमा असार १३ देखि १९ गतेसम्म सप्ताहव्यापी कार्यक्रम आयोजना गरिने जानकारी दिँदै उक्त कार्यक्रम सफल बनाउन ट्राफिक प्रहरीको सहयोग आवश्यक रहेको उल्लेख गरे।
नाडाले स्टिकर तथा अन्य माध्यमबाट ट्राफिक जनचेतनामूलक अभियान सञ्चालन गर्ने तयारी पनि गरेको छ।
छलफलमा नाडाका महासचिव मिलनबाबु मल्ल, उपाध्यक्ष विक्रम सिंहानिया, सचिव मेघराज पौडेल र कोषाध्यक्ष पंकज अग्रवालले समेत सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
आर्थिकन्यूज
प्रतिक्रिया