काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको भेरीगङ्गा नगरपालिका–स्थित साजगोठेरी सामुदायिक वन उपभोक्ता समूहमा आर्थिक अनियमितता भएको आरोपमा तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार सामुदायिक वनका तत्कालीन पदाधिकारीहरूले रुख कटान तथा बिक्री–वितरणको रकम हिनामिना गरी सार्वजनिक सम्पत्तिमा हानि पुर्याएको पुष्टि भएपछि मुद्दा दायर गरिएको हो।
मुद्दा दायर गरिएका व्यक्तिहरूमा तत्कालीन अध्यक्ष लोकबहादुर महतारा, सचिव मानकुमारी पौड्याल र कोषाध्यक्ष दलबहादुर बुढा रहेका छन्।
आर्थिक वर्ष २०७८/७९ मा वन क्षेत्रमा गरिएका रुख कटान तथा बिक्री प्रक्रियामा उनीहरूको मिलेमतोमा अनियमितता भएको आयोगले जनाएको छ। उक्त प्रकरणमा कुल रु. ७ लाख १५ हजार ९ सय १९ बराबरको बिगो कायम गरिएको छ।
आयोगले उनीहरूविरुद्ध बिगो असुली, जरिवाना तथा कैद सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारका अनुसार सामुदायिक वन जस्तो सार्वजनिक स्रोतमा भएको अनियमितता गम्भीर प्रकृतिको भएकाले कानुनी प्रक्रिया अघि बढाइएको र थप अनुसन्धान जारी रहेको छ।
आर्थिकन्यूज
प्रतिक्रिया