काठमाडौं । अमेरिका र इरानबीचको तनाव थप चर्किएको छ। अमेरिकी सेनाले बिहीबार बिहान इरानका विभिन्न क्षेत्रमा नयाँ हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
इरानी सञ्चारमाध्यमका अनुसार केश्म द्वीप, बन्दर अब्बास, मीनाब र सिरिक क्षेत्रमा विस्फोटका आवाज सुनिएका छन्। त्यसपछि ती क्षेत्रमा हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारिएको बताइएको छ।
अमेरिकी राष्ट्रपति Donald Trump ले इरानले वार्तामा ढिलाइ गरिरहेको आरोप लगाउँदै अमेरिकाले दबाब कायम राख्ने बताएका छन्। उनका अनुसार अमेरिकी सेनाले ४९ वटा टमाहक मिसाइल प्रहार गर्नुका साथै लडाकु विमानमार्फत पनि आक्रमण गरेको छ।
यता इरानले कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अड्डालाई निशाना बनाएको दाबी गरेको छ। यद्यपि क्षतिको आधिकारिक पुष्टि भएको छैन।
इरानले फेरि एकपटक होर्मुज जलडमरूमध्य सबै जहाजका लागि बन्द गरेको घोषणा गरेको छ। तर अमेरिकी सेनाको सेन्ट्रल कमान्डले उक्त दाबी अस्वीकार गरेको छ।
यसबीच, जोर्डनले पाँचवटा इरानी मिसाइल खसालेको, इरानले अमेरिकी एमक्यू–९ रिपर ड्रोन ध्वस्त पारेको तथा ओमानको तट नजिक तेल ट्यांकरमाथि भएको आक्रमणमा एक जनाको मृत्यु भएको दाबी गरिएको छ। साथै, रूसले दुवै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ भने कतारले तनाव कम गर्ने प्रयासस्वरूप आफ्नो प्रतिनिधिमण्डल तेहरान पठाएको जनाएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया