शीर्षकहरू

इरान-इजरायल तनावपछि तेल बजारमा उछाल, ब्रेन्ट क्रुड ९७ डलर नजिक; मूल्य अझै बढ्ने अनुमान

इरान-इजरायल तनावपछि तेल बजारमा उछाल, ब्रेन्ट क्रुड ९७ डलर नजिक; मूल्य अझै बढ्ने अनुमान

काठमाडौं। इरानले इजरायलमाथि गरेको मिसाइल आक्रमण र त्यसपछि इजरायली वायुसेनाको जवाफी सैन्य कारबाहीका कारण अन्तर्राष्ट्रिय कच्चा तेल बजारमा तीव्र उछाल आएको छ। सोमबार एसियाली बजार खुलेसँगै ऊर्जा क्षेत्रमा देखिएको अस्थिरताले विश्व अर्थतन्त्रमा नयाँ चिन्ता थपेको विश्लेषकहरूले बताएका छन्।

गत अप्रिलमा इरान, इजरायल र संयुक्त राज्य अमेरिकाबीच भएको संवेदनशील युद्धविराम सम्झौतापछि इरानले इजरायली भूभागमा प्रत्यक्ष मिसाइल प्रहार गरेको यो पहिलो घटना हो। यस घटनापछि मध्यपूर्वमा आपूर्ति अवरुद्ध हुने जोखिम बढेपछि बजारमा ‘प्यानिक बाइङ’ (आतंकित खरिद) देखिएको छ।

अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुडको मूल्य सोमबार ४.६२ प्रतिशतले बढ्दै प्रतिब्यारेल ९७.३९ अमेरिकी डलर पुगेको छ। त्यस्तै अमेरिकी बेन्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लूटीआई) को मूल्य पनि ४.३५ प्रतिशतले बढेर प्रतिब्यारेल ९४.४८ डलर कायम भएको छ।

तेलसँगै अन्य पेट्रोलियम उत्पादनहरूको मूल्यमा पनि वृद्धि देखिएको छ। पेट्रोलको मूल्य ३.३६ प्रतिशतले बढेर ३.१४ डलर पुगेको छ भने हिटिङ आयल ४.१२ प्रतिशतले बढेर ३.७३ डलरमा कारोबार भइरहेको छ। यद्यपि प्राकृतिक ग्यासको मूल्यमा भने १.५९ प्रतिशतको गिरावट आएको छ।

पछिल्ला एक सातादेखि प्रतिब्यारेल करिब ९५ डलर हाराहारीमा स्थिर रहेको तेल बजार यो सैन्य तनावपछि ९७ डलर नाघेको हो। मध्यपूर्वमा तनाव थप चर्किएमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा माथि पुग्न सक्ने अनुमान विश्लेषकहरूले गरेका छन्।

विश्लेषकहरूका अनुसार आपूर्ति शृंखला जोखिममा परेमा विश्व बजार अझै अस्थिर बन्न सक्छ। विशेषगरी रणनीतिक रूपमा महत्वपूर्ण समुद्री मार्ग र ऊर्जा आपूर्ति केन्द्रहरू प्रभावित भएमा मूल्य वृद्धि थप तीव्र हुन सक्ने चेतावनी उनीहरूले दिएका छन्।

तेल मूल्यमा आएको यो वृद्धिको प्रत्यक्ष असर आयातमा निर्भर अर्थतन्त्रहरूमा पर्ने देखिएको छ। नेपालजस्ता इन्धन आयातकर्ता देशमा उपभोक्ता मूल्य वृद्धि र मुद्रास्फीतिमा थप चाप पर्ने सम्भावना रहेको अर्थविद्हरूको भनाइ छ।

प्रतिक्रिया