वासिङ्टन/बेइजिङ। अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले चीनका प्रमुख प्रविधि तथा औद्योगिक कम्पनी अलीबाबा, बीवाईडी, सीएटीएल र बाइडुलाई चिनियाँ सैन्य निकायसँग सम्बन्ध रहेको आरोप लगाउँदै आफ्नो ‘ब्ल्याकलिस्ट’मा समावेश गरेको छ।
पेन्टागनले अद्यावधिक गरेको सूचीमा विश्वकै अग्रणी ई–कमर्स कम्पनी अलीबाबा, विद्युतीय सवारी निर्माता बीवाईडी, ब्याट्री उत्पादक सीएटीएल र इन्टरनेट तथा कृत्रिम बुद्धिमत्ता क्षेत्रमा सक्रिय बाइडु लगायतका कम्पनी समेटिएका छन्। अमेरिकी पक्षले ती कम्पनीहरू चीनको सैन्य–औद्योगिक संरचनासँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएको दाबी गरेको छ।
यद्यपि, उक्त सूचीमा समावेश हुनु प्रत्यक्ष आर्थिक प्रतिबन्ध भने होइन। तर यसले अमेरिकी लगानीकर्ता, सरकारी निकाय र व्यावसायिक साझेदारहरूलाई ती कम्पनीसँग कारोबार गर्दा थप सावधानी अपनाउन संकेत गर्ने मानिन्छ।
यो कदम चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको हालैको शिखर भेटवार्ताको केही सातापछि सार्वजनिक भएको हो। त्यसैले यसलाई दुई देशबीचको रणनीतिक तथा प्रविधि प्रतिस्पर्धाको नयाँ अध्यायका रूपमा समेत हेरिएको छ।
ब्ल्याकलिस्टमा परेका कम्पनीहरूले भने पेन्टागनको निर्णयको विरोध गरेका छन्। उनीहरूले आफूहरू स्वतन्त्र व्यावसायिक संस्था भएको, सैन्य गतिविधिसँग कुनै सम्बन्ध नरहेको र निर्णयविरुद्ध कानुनी लडाइँ लड्ने बताएका छन्।
विशेषगरी विश्वको सबैभन्दा ठूलो ब्याट्री उत्पादक सीएटीएल र विद्युतीय सवारी बजारमा तीव्र विस्तार गरिरहेको बीवाईडीमाथिको अमेरिकी कदमले विश्वव्यापी हरित ऊर्जा तथा विद्युतीय सवारी आपूर्ति शृंखलामा समेत प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ।
अमेरिका र चीनबीच पछिल्ला वर्षहरूमा सेमिकन्डक्टर, कृत्रिम बुद्धिमत्ता, दूरसञ्चार, स्वच्छ ऊर्जा र उन्नत प्रविधिका क्षेत्रमा प्रतिस्पर्धा चर्किंदै गएको छ। पेन्टागनको पछिल्लो निर्णयलाई पनि यही व्यापक भू-राजनीतिक र आर्थिक प्रतिस्पर्धाको निरन्तरताका रूपमा हेरिएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया