शीर्षकहरू

भन्सार कर छली प्रकरणमा अर्थमन्त्रीमाथि झुट बोलेको आरोप, निष्पक्ष छानबिनको माग

संसदीय समितिलाई गलत जानकारी दिइयो, सूचना चुहावट र करका दर हेरफेरबारे स्वतन्त्र छानबिन हुनुपर्ने माग

भन्सार कर छली प्रकरणमा अर्थमन्त्रीमाथि झुट बोलेको आरोप, निष्पक्ष छानबिनको माग


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले भन्सार कर छली प्रकरणमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदीय समितिमा झुटो जानकारी दिएको आरोप लगाएका छन्। उनले घटनाबारे निष्पक्ष छानबिन गर्न माग गरेका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले सुशासन र पारदर्शिताको पक्षमा आफूहरूले निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्दै सरकारले उक्त विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए।

“सुशासनका पक्षमा हामीले हरियो रिबन बाँध्यौं, आन्दोलन गर्‍यौं, छानबिन समितिको माग गर्‍यौं। तर सत्ताको कुर्सी गजबको हुँदो रहेछ, यताबाट उता सर्दा सबै बिर्सिने हुँदो रहेछ,” उनले भने, “भन्सार कर छलीको विषयमा अर्थमन्त्रीले संसदीय समितिमा गएर झुट बोल्नुभएको छ। समिति रहरले माग गरिएको होइन, सत्य तथ्य बाहिर ल्याउनका लागि माग गरिएको हो।”

शाहीले अर्थमन्त्रीलाई काम गर्न नदिने उद्देश्य नभएको स्पष्ट पार्दै सार्वजनिक रूपमा उठेका प्रश्नको जवाफ छानबिनमार्फत दिनुपर्ने बताए।

बजेट सार्वजनिक भएपछि विद्युतीय सवारीसाधनसँग सम्बन्धित करका दर परिवर्तन गरिएको र सूचना चुहावट भएको आरोप अर्थमन्त्री वाग्लेमाथि लाग्दै आएको छ। यही विषयमा बुधबार प्रतिनिधिसभाअन्तर्गतको सम्बन्धित समितिमा उपस्थित भएका अर्थमन्त्री वाग्लेले आर्थिक विधेयक वा करका दरमा कुनै अनधिकृत चलखेल नगरेको दाबी गरेका थिए।

तर विपक्षी सांसदहरूले भने अर्थमन्त्रीको स्पष्टीकरणले उठेका प्रश्नको चित्तबुझ्दो जवाफ नदिएको भन्दै घटनाको स्वतन्त्र छानबिन आवश्यक रहेको बताएका छन्।

प्रतिक्रिया