शीर्षकहरू

अधिक तरलताको असर : सस्तो बन्दै बैंक ऋण, कमजोर बन्दै बचतको प्रतिफल

अधिक तरलताको असर : सस्तो बन्दै बैंक ऋण, कमजोर बन्दै बचतको प्रतिफल

काठमाडौं । बैंकिङ प्रणालीमा तरलता उल्लेख्य रूपमा बढेपछि बैंक तथा वित्तीय संस्थाहरूको आधारदर, निक्षेप तथा कर्जाको ब्याजदर निरन्तर घटेको छ। निक्षेपको वृद्धिदर कर्जा विस्तारको तुलनामा उच्च रहेपछि बैंकहरूमा लगानीयोग्य रकम थुप्रिँदै गएको छ। जसको प्रत्यक्ष प्रभाव ब्याजदरमा परेको हो। यसले ऋण लिनेहरूलाई राहत पुगेको भए पनि बचतकर्ताको प्रतिफल भने खुम्चिएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्म वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ६.७३ प्रतिशतमा झरेको छ।गत वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको कर्जाको औसत ब्याजदर ८.११ प्रतिशत रहेको थियो। एक वर्षको अवधिमा कर्जाको ब्याजदर १.३८ प्रतिशत बिन्दुले घटेको हो।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार विकास बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ७.८७ प्रतिशत कायम भएको छ। अघिल्लो वर्ष सो दर ९.४५ प्रतिशत थियो। वित्त कम्पनीहरूको कर्जाको औसत ब्याजदर पनि १०.३१ प्रतिशतबाट घटेर ९.१४ प्रतिशतमा झरेको छ।

कर्जासँगै निक्षेपको ब्याजदर पनि घटेको छ। वैशाख मसान्तसम्म वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.३५ प्रतिशतमा सीमित भएको छ, जबकि गत वर्ष सोही अवधिमा ४.३७ प्रतिशत थियो। विकास बैंकहरूको निक्षेप ब्याजदर ५.११ प्रतिशतबाट घटेर ३.७० प्रतिशत र वित्त कम्पनीहरूको ६.१५ प्रतिशतबाट ४.५९ प्रतिशतमा झरेको छ।

बैंकहरूको आधारदर (बेस रेट) मा पनि उल्लेख्य गिरावट देखिएको छ। वाणिज्य बैंकहरूको औसत आधारदर ६.१७ प्रतिशतबाट घटेर ४.९७ प्रतिशतमा पुगेको छ। विकास बैंकहरूको आधारदर ८.२४ प्रतिशतबाट ६.९५ प्रतिशत तथा वित्त कम्पनीहरूको ९.११ प्रतिशतबाट ७.३० प्रतिशतमा झरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

यस अवधिमा अन्तरबैंक ब्याजदर पनि घटेर २.७५ प्रतिशतमा झरेको छ। गत वर्ष वैशाख मसान्तमा यस्तो दर ३ प्रतिशत थियो। त्यस्तै, ९१ दिने ट्रेजरी बिलको ब्याजदर २.९५ प्रतिशतबाट घटेर २.६३ प्रतिशतमा सीमित भएको छ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप उल्लेख्य रूपमा बढ्दा कर्जा विस्तार भने तुलनात्मक रूपमा सुस्त देखिएको छ। २०८३ वैशाख मसान्तसम्म निक्षेप ९.४ प्रतिशत (६ खर्ब ८५ अर्ब ४१ करोड रुपैयाँ) ले वृद्धि भई ७९ खर्ब ४९ अर्ब २८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा निक्षेप वृद्धि ६.२ प्रतिशत मात्र रहेको थियो। वार्षिक विन्दुगत आधारमा निक्षेप १६ प्रतिशतले बढेको छ, जसले बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) प्रशस्त रहेको संकेत गर्छ।

यता, निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ५.७ प्रतिशत (३ खर्ब १२ अर्ब रुपैयाँ) ले बढेर ५८ खर्ब ९ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा कर्जा विस्तार ७.३ प्रतिशत रहेको थियो। वार्षिक विन्दुगत आधारमा निजी क्षेत्रतर्फको कर्जा वृद्धि ६.७ प्रतिशतमा सीमित छ।

निक्षेपको तुलनामा कर्जा विस्तार सुस्त रहनुले बैंकहरूमा तरलता थुप्रिँदै गएको र कर्जाको माग तथा लगानी विस्तार अपेक्षाकृत कमजोर रहेको देखाउँछ। यही कारण बैंकहरूबीच कर्जा प्रवाह बढाउन प्रतिस्पर्धा चर्किँदा ब्याजदर निरन्तर घट्दो क्रममा रहेको छ। ब्याजदर घट्दा निजी क्षेत्रको कर्जा लागत कम हुने भए पनि कर्जा माग भने अझै अपेक्षित रूपमा बढ्न सकेको छैन।

null

प्रतिक्रिया