काठमाडौँ। नेपालको बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप परिचालन र निजी क्षेत्रमा प्रवाहित कर्जा दुवै बढेको देखिएको छ। चालु आर्थिक वर्षको दश महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप उल्लेख्य रूपमा बढे पनि निजी क्षेत्रमा प्रवाहित कर्जा भने अपेक्षाकृत सुस्त गतिमा विस्तार भएको देखिएको छ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ९.४ प्रतिशत (६ खर्ब ८५ अर्ब ४१ करोड) ले वृद्धि भई करिब ७९ खर्ब ४९ अर्ब २८ करोड पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा निक्षेप वृद्धि ६.२ प्रतिशत मात्र थियो। वार्षिक विन्दुगत आधारमा भने निक्षेप १६ प्रतिशतले बढेको छ, जसले वित्तीय प्रणालीमा तरलता अझै मजबुत रहेको देखाउँछ।
यस अवधिमा निजी क्षेत्रमा प्रवाहित कर्जा ५.७ प्रतिशत (३ खर्ब १२ अर्ब) ले वृद्धि भई ५८ खर्ब ९ अर्ब ७१ करोड पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा कर्जा विस्तार ७.३ प्रतिशत थियो। वार्षिक विन्दुगत आधारमा २०८३ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.७ प्रतिशतले बढेको छ । यसले बैंकहरूले पर्याप्त तरलता भए पनि कर्जा प्रवाहमा अपेक्षाकृत सावधानी अपनाइरहेको संकेत गर्छ।
बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप तीव्र गतिमा बढिरहँदा कर्जा प्रवाह सुस्त रहँदा वित्तीय प्रणालीमा तरलता असन्तुलन देखिन थालेको विश्लेषकहरूको भनाइ छ।
राष्ट्र बैंकको तथ्यांकअनुसार २०८३ वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रको हिस्सा ६२.७ प्रतिशत रहेको छ। व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाहित कर्जाको हिस्सा ३७.३ प्रतिशत रहेको छ।
अघिल्लो वर्षको सोही अवधिमा गैर-वित्तीय संस्थागत क्षेत्रको हिस्सा ६३.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रको हिस्सा ३६.९ प्रतिशत रहेको थियो। यसले पछिल्लो एक वर्षमा व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ कर्जाको हिस्सा सामान्य रूपमा बढेको देखाउँछ।
राष्ट्र बैंकका अनुसार २०८३ वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गरेको कुल कर्जामध्ये ६३.५ प्रतिशत कर्जा घरजग्गा धितो सुरक्षणमा आधारित रहेको छ। यस्तै कृषि तथा गैर–कृषिजन्य वस्तुसहितको चालु सम्पत्ति सुरक्षणमा आधारित कर्जाको हिस्सा १४.९ प्रतिशत रहेको छ।
अघिल्लो वर्षको सोही अवधिमा घरजग्गा धितोमा आधारित कर्जाको हिस्सा ६५.१ प्रतिशत तथा चालु सम्पत्ति सुरक्षणमा आधारित कर्जाको हिस्सा १४.६ प्रतिशत रहेको थियो।
तथ्यांकले बैंकिङ प्रणालीमा घरजग्गा धितोको प्रभुत्व अझै कायम रहेको देखाए पनि यसको हिस्सा केही घट्दै गएको संकेत गरेको छ। अर्कोतर्फ चालु सम्पत्ति सुरक्षणमा आधारित कर्जाको हिस्सा सामान्य रूपमा बढेकाले व्यापार, उत्पादन तथा व्यावसायिक गतिविधितर्फ कर्जा प्रवाह विस्तार हुन थालेको संकेत देखिएको छ।
अर्थविद्हरूका अनुसार कर्जा पोर्टफोलियोलाई उत्पादनशील क्षेत्रतर्फ विविधीकरण गर्न सकिए अर्थतन्त्रमा लगानी र रोजगारी सिर्जनामा थप सकारात्मक प्रभाव पर्न सक्छ।
निर्माण र उपभोग क्षेत्रमा कर्जा विस्तार दोहोरो अंकले बढ्यो, कृषि क्षेत्रमा भने २.३ प्रतिशत गिरावट
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाहमा क्षेत्रगत रूपमा मिश्रित प्रवृत्ति देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार निर्माण तथा उपभोग क्षेत्रतर्फ कर्जा विस्तार सबैभन्दा तीव्र देखिएको छ भने कृषि क्षेत्रमा कर्जा प्रवाह घटेको छ।
समीक्षा अवधिमा निर्माण क्षेत्रतर्फ प्रवाहित कर्जा १२.८ प्रतिशतले बढेको छ। यस्तै उपभोग्य क्षेत्रतर्फको कर्जा १२.३ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १०.९ प्रतिशत र औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ६.८ प्रतिशतले वृद्धि भएको छ।
त्यसैगरी सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३.३ प्रतिशत तथा वित्त, बीमा र अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा १ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।
तर कृषि क्षेत्रतर्फको कर्जा भने २.३ प्रतिशतले घटेको छ। कृषि उत्पादन वृद्धि र आत्मनिर्भरता सरकारको प्राथमिकतामा रहे पनि बैंकिङ क्षेत्रबाट कृषि क्षेत्रमा लगानी विस्तार हुन नसकेको तथ्यांकले देखाएको छ।
आयात कर्जा ३६ प्रतिशतले बढ्यो, मार्जिन र हायर पर्चेज कर्जामा पनि उल्लेख्य विस्तार
चालु आर्थिक वर्ष २०८२/८३ को समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित विभिन्न प्रकृतिका कर्जामध्ये आयातसँग सम्बन्धित ट्रस्ट रिसिप्ट (टीआर) कर्जामा सबैभन्दा उच्च वृद्धि देखिएको छ।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा ट्रस्ट रिसिप्ट (आयात) कर्जा ३६.१ प्रतिशतले बढेको छ। यसले आयात कारोबार र व्यापारिक गतिविधिमा पुनः विस्तार भइरहेको संकेत गरेको छ।
यस्तै मार्जिन प्रकृतिको कर्जा १५.५ प्रतिशतले वृद्धि भएको छ। शेयर बजारमा लगानीका लागि प्रयोग हुने यस प्रकारको कर्जा बढ्नुले पूँजी बजारप्रति लगानीकर्ताको रुचि बढ्दै गएको संकेत गर्छ।
समीक्षा अवधिमा हायर पर्चेज कर्जा ९.१ प्रतिशत, रियल इस्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासहित) ५.३ प्रतिशत, माग तथा अन्य चालु पुँजी कर्जा ४.३ प्रतिशत र आवधिक कर्जा ४ प्रतिशतले बढेको छ।
त्यसैगरी क्यास क्रेडिट कर्जा ०.४ प्रतिशतले बढ्दा अधिविकर्ष (ओभरड्राफ्ट) कर्जा भने ०.७ प्रतिशतले घटेको छ।
बैंक निक्षेप संरचनामा बचत खाताको हिस्सा बढ्यो, संस्थागत निक्षेपको अंश घट्दै
नेपाल राष्ट्र बैंकका अनुसार २०८३ वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा बचत खाताको हिस्सा उल्लेख्य रूपमा बढेको छ भने मुद्दती निक्षेप र संस्थागत निक्षेपको हिस्सा घटेको देखिएको छ।
तथ्यांकअनुसार कुल निक्षेपमध्ये चल्ती निक्षेप ६.८ प्रतिशत, बचत निक्षेप ४६.२ प्रतिशत र मुद्दती निक्षेप ३८.२ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चल्ती निक्षेप ५.५ प्रतिशत, बचत निक्षेप ३५.९ प्रतिशत र मुद्दती निक्षेप ५०.८ प्रतिशत रहेको थियो।
एक वर्षको अवधिमा बचत निक्षेपको हिस्सा १० प्रतिशत बिन्दुभन्दा बढीले बढ्दा मुद्दती निक्षेपको हिस्सा उल्लेख्य रूपमा घटेको छ। यसले उच्च ब्याजदरको अवधि समाप्त भएसँगै निक्षेपकर्ताहरू दीर्घकालीन मुद्दती निक्षेपभन्दा बढी तरल बचत खातातर्फ आकर्षित हुन थालेको संकेत गरेको छ।
त्यस्तै २०८३ वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको हिस्सा ३३.७ प्रतिशत रहेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो हिस्सा ३५.४ प्रतिशत थियो।
विश्लेषकहरूका अनुसार संस्थागत निक्षेपको हिस्सा घट्दै जानु र व्यक्तिगत बचतको हिस्सा बढ्नु बैंकिङ प्रणालीका लागि सकारात्मक संकेत मानिन्छ। संस्थागत निक्षेप तुलनात्मक रूपमा अस्थिर हुने भएकाले व्यक्तिगत तथा खुद्रा निक्षेपमा आधारित स्रोत संरचनाले बैंकहरूको तरलता व्यवस्थापनलाई थप सुदृढ बनाउन मद्दत पुर्याउँछ।
विश्लेषकहरूका अनुसार निक्षेप उच्च दरमा बढ्दा पनि कर्जा विस्तार कमजोर हुनु लगानी वातावरणमा सुस्तता र परियोजना माग कमजोर रहेको संकेत हो। यसले निकट भविष्यमा आर्थिक गतिविधि र निजी क्षेत्रको विस्तारमा प्रभाव पार्न सक्ने उनीहरूको भनाइ छ। समग्रमा हेर्दा बैंकिङ प्रणालीमा तरलता बढ्दो छ, तर कर्जा प्रवाह अपेक्षाकृत सुस्त रहँदा वित्तीय प्रणालीमा सन्तुलित वृद्धि अभाव देखिन थालेको छ।
आर्थिकन्यूज
प्रतिक्रिया