शीर्षकहरू

अर्थतन्त्रका बाह्य सूचक थप सुदृढ : विदेशी मुद्रा सञ्चिति ३७ खर्ब, शोधनान्तर स्थिति ८.६३ खर्ब बचतमा

अर्थतन्त्रका बाह्य सूचक थप सुदृढ : विदेशी मुद्रा सञ्चिति ३७ खर्ब, शोधनान्तर स्थिति ८.६३ खर्ब बचतमा

काठमाडौं । नेपालको बाह्य क्षेत्र थप सुदृढ बन्दै गएको देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा विदेशी मुद्रा सञ्चिति, शोधनान्तर स्थिति र चालु खाता बचत सबैमा उल्लेखनीय सुधार देखिएको छ।

२०८३ वैशाख मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति ३८.३ प्रतिशतले बढेर ३७ खर्ब ४ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको असार मसान्तमा यस्तो सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो। अमेरिकी डलरमा सञ्चिति २४ प्रतिशतले बढेर २४ अर्ब १९ करोड डलर पुगेको छ।

राष्ट्र बैंकका अनुसार हालको विदेशी मुद्रा सञ्चिति २२.६ महिनाको वस्तु आयात तथा १९.२ महिनाको वस्तु र सेवा आयात धान्न पर्याप्त छ। यो स्तर अन्तर्राष्ट्रिय मापदण्डको तुलनामा निकै सहज मानिन्छ।

सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकसँग रहेको विदेशी मुद्रा ३२ खर्ब ९८ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ भने बैंक तथा वित्तीय संस्थासँग रहेको सञ्चिति ४ खर्ब ६ अर्ब १७ करोड रुपैयाँ पुगेको छ। कुल सञ्चितिमा भारतीय मुद्राको हिस्सा २०.६ प्रतिशत रहेको छ।

बाह्य क्षेत्रको अर्को महत्वपूर्ण सूचक शोधनान्तर स्थिति पनि उल्लेख्य रूपमा सुधारिएको छ। समीक्षा अवधिमा शोधनान्तर बचत ८ खर्ब ६३ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत ४ खर्ब ३८ अर्ब ५२ करोड रुपैयाँ थियो। अमेरिकी डलरमा शोधनान्तर बचत ५ अर्ब ९८ करोड डलर पुगेको छ।

त्यस्तै चालु खाता बचत पनि ७ खर्ब २९ अर्ब २८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता बचत २ खर्ब ७२ अर्ब ५३ करोड रुपैयाँ थियो। अमेरिकी डलरमा चालु खाता बचत ५ अर्ब ५ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ।

समीक्षा अवधिमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) पनि बढेको छ। इक्विटीतर्फको प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १० अर्ब ५८ करोड रुपैयाँभन्दा उल्लेख्य बढी हो।

अर्थविद्हरूका अनुसार रेमिट्यान्स आप्रवाहमा भएको तीव्र वृद्धि, आयातको तुलनामा विदेशी मुद्रा आम्दानी बढ्नु तथा बाह्य भुक्तानी व्यवस्थापन सुदृढ रहनुले विदेशी मुद्रा सञ्चिति र शोधनान्तर स्थितिमा सुधार आएको हो। यद्यपि दीर्घकालीन रूपमा यस्तो सुधारलाई टिकाइराख्न निर्यात, पर्यटन आम्दानी र वैदेशिक लगानी विस्तारमा जोड दिनुपर्ने उनीहरूको सुझाव छ।

प्रतिक्रिया