काठमाडौं । भारतीय युवा क्रिकेटर वैभव सूर्यवंशीले कम उमेरमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चा बटुलिरहेका बेला उनका भाइ आशिर्वाद सूर्यवंशीबारे पनि क्रिकेट समर्थकहरूबीच चासो बढ्न थालेको छ।
वैभवका पिता तथा प्रशिक्षक सञ्जीव सूर्यवंशीले भारतीय सञ्चारमाध्यम एनडीटीभीसँगको विशेष कुराकानीमा आशिर्वादको क्रिकेट प्रतिभाबारे खुलासा गरेका छन्। उनले आशिर्वादमा पनि राम्रो क्रिकेट क्षमता रहेको बताए पनि वैभवसँग तुलना गर्न नमिल्ने स्पष्ट पारे।
सञ्जीवका अनुसार आशिर्वादले निरन्तर मेहनत गरिरहेका छन् र उनको खेल पनि प्रभावशाली बन्दै गएको छ। यद्यपि हाल आफ्नो अधिकांश समय वैभवको क्रिकेट करिअर र विभिन्न कार्यक्रमहरूमा केन्द्रित भएकाले आशिर्वादलाई पर्याप्त समय दिन नसकेको उनले बताए। “वैभव अलग प्रकारको खेलाडी हुन्। तर आशिर्वाद पनि राम्रो खेल्छन्। उनी नियमित अभ्यासमा जुटिरहेका छन् र निरन्तर सुधार गरिरहेका छन्,” उनले भने।
सञ्जीवले आशिर्वादको ब्याटिङ शैली पनि आक्रामक रहेको बताए। दाहिने हातका ब्याटर आशिर्वादमा ठूला सट खेल्ने क्षमता रहेको र मैदानमा आत्मविश्वासका साथ खेल्ने विशेषता रहेको उनको भनाइ छ।
उनका अनुसार क्रिकेटप्रति आशिर्वादको लगाव र समर्पण पनि उत्तिकै बलियो छ। उचित प्रशिक्षण र मार्गदर्शन प्राप्त भएमा आगामी दुई वर्षभित्र उनले पनि आफ्नै पहिचान स्थापित गर्न सक्ने विश्वास सञ्जीवले व्यक्त गरे।
“दुई वर्षभित्र म उनलाई राम्रोसँग तयार पार्नेछु। उनी अलि बढी माया पाएका कारण तयार हुन केही समय लागिरहेको छ। तर भविष्यमा सबैले उनको खेल हेर्न पाउनेछन्,” उनले भने।
यद्यपि सञ्जीवले वैभवको प्रतिभा असाधारण रहेको उल्लेख गर्दै त्यस्तो खेलाडी बारम्बार जन्मिन नसक्ने बताए। “दोस्रो वैभव सूर्यवंशी बन्न सक्दैन। वैभव केवल एक हुन्। उनको सोच, मेहनत र खेलले उनलाई सबैभन्दा फरक बनाएको छ,” उनले भावुक हुँदै भने।
वैभव सूर्यवंशी भारतीय टोलीमा छनोट भई निरन्तर सफलता हासिल गरिरहेका कारण अहिले उनका परिवारका अन्य सदस्यहरू पनि चर्चामा छन्। विशेषगरी आशिर्वाद सूर्यवंशीको क्रिकेट यात्रालाई लिएर समर्थकहरू उत्सुक देखिएका छन्।
पिताको विश्वासअनुसार आशिर्वादले पनि निकट भविष्यमा क्रिकेट मैदानमा आफ्नो अलग पहिचान बनाउँदै सफलता हासिल गर्न सक्ने अपेक्षा गरिएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया