मुम्बई । भारतीय मिडिया कम्पनी जी इन्टरटेनमेन्ट इन्टरप्राइजेजले फिफाका ३९ वटा प्रमुख प्रतियोगिताको भारतका लागि मिडिया प्रसारण अधिकार प्राप्त गरेको घोषणा गरेको छ।
सोमबार सार्वजनिक गरिएको सम्झौताअनुसार जीले फिफा विश्वकप २०२६, फिफा महिला विश्वकप २०२७ र फिफा विश्वकप २०३० सहितका विभिन्न फिफा प्रतियोगिताहरू सन् २०२६ देखि २०३४ सम्म भारतमा प्रसारण गर्नेछ।
आगामी विश्वकपको आयोजना अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा गर्नेछन्। भारतमा प्रतियोगिताको प्रत्यक्ष प्रसारण जी समूहको नयाँ खेलकुद च्यानल ‘युनाइट एट स्पोर्ट्स’ मा हुनेछ भने डिजिटल प्लेटफर्म जि फाइभमार्फत प्रत्यक्ष प्रसारण (लाइभ स्ट्रिमिङ) पनि उपलब्ध गराइनेछ। दर्शकहरूले प्रत्यक्ष खेलसँगै हाइलाइट्स, विश्लेषण, विशेष कार्यक्रम तथा फिफा डकुमेन्ट्री सामग्री पनि हेर्न पाउनेछन्।
फिफा प्रतियोगिताको समय क्षेत्र (टाइम जोन) का कारण खेलहरू भारतीय समयअनुसार राति प्रसारण हुने भएकाले प्रसारण अधिकार खरिदमा धेरै भारतीय प्रसारकहरू अनिच्छुक देखिएका थिए। विभिन्न मिडिया रिपोर्टअनुसार फिफाले सन् २०२६ देखि २०३० सम्मका विश्वकप प्रसारण अधिकारका लागि करिब १० करोड अमेरिकी डलर माग गरेको थियो।
जी इन्टरटेनमेन्टका प्रमुख कार्यकारी अधिकृत पुनीत गोयनकाले विश्वकै सबैभन्दा लोकप्रिय खेल प्रतियोगितामध्ये एकलाई भारतीय दर्शकमाझ ल्याउन पाउँदा उत्साहित भएको बताए। उनका अनुसार फुटबलले विभिन्न क्षेत्र र समुदायलाई जोड्ने क्षमता राख्छ र खेलकुद प्रसारण क्षेत्रमा गरिएको लगानी दीर्घकालीन सम्भावनाप्रतिको विश्वासको संकेत हो।
पछिल्लो दशकमा भारतमा फुटबलको लोकप्रियता उल्लेखनीय रूपमा बढेको छ। अन्तर्राष्ट्रिय प्रतियोगिता, युरोपेली क्लब फुटबल र डिजिटल माध्यमको विस्तारले फुटबल दर्शकको संख्या निरन्तर वृद्धि भइरहेको छ।
आर्थिकन्यूज
प्रतिक्रिया