शीर्षकहरू

आईपीएल २०२६ मा भारतीय खेलाडी कै दबदबा, ब्याटिङमा विदेशीलाई उछिने

आईपीएल २०२६ मा भारतीय खेलाडी कै दबदबा, ब्याटिङमा विदेशीलाई उछिने

एजेन्सी । एक समय विदेशी पावर–हिटरहरूको प्रभुत्व रहेको इन्डियन प्रिमियर लिग (आईपीएल) मा अब भारतीय खेलाडीहरूको प्रभाव बढ्दै गएको देखिएको छ। आईपीएल २०२६ मा भारतीय ब्याट्सम्यानहरूले विदेशी खेलाडीभन्दा आक्रामक प्रदर्शन गर्दै उच्च स्ट्राइक रेटमा रन बनाएका छन्।

यस सिजन भारतीय ब्याट्सम्यानहरूको औसत स्ट्राइक रेट १५७.०१ रहेको छ । जुन अघिल्लो सिजनको १५२ भन्दा उल्लेखनीय रूपमा बढी हो। विदेशी ब्याट्सम्यानहरूको स्ट्राइक रेट १५५.३७ रहेको छ। यसले भारतीय खेलाडीहरू अब सुरुदेखि नै आक्रामक क्रिकेट खेल्दै खेलको गति नियन्त्रण गर्न सक्षम भएको देखाउँछ।

यद्यपि बलिङतर्फ भने विदेशी खेलाडीहरू बढी प्रभावशाली देखिएका छन्। भारतीय बलरहरूले २०२५ मा ५३३ विकेट लिएकोमा यसपटक ५०६ विकेट मात्र लिन सके। उनीहरूको इकोनोमी रेट ९.४२ बाट बढेर ९.७९ पुगेको छ। विदेशी बलरहरू पनि अघिल्लो वर्षको तुलनामा महँगा भए तापनि भारतीय बलरभन्दा किफायती साबित भएका छन्।

यस सिजन ५३ खेलाडीले ‘प्लेयर अफ द म्याच’ अवार्ड जितेका छन्। तीमध्ये ३१ भारतीय र २२ विदेशी खेलाडी रहेका छन्। भारतीयतर्फ वैभव सूर्यवंशी, ईशान किशन र सञ्जु स्यामसनले सर्वाधिक तीन–तीन पटक उक्त अवार्ड जितेका छन्।

आईपीएल २०२६ मा समग्र ब्याटिङ तथ्यांक पनि उत्साहजनक देखिएको छ। स्ट्राइक रेटसँगै ब्याटिङ औसतमा पनि वृद्धि भएको छ। चौका, छक्का, शतक र अर्धशतकको संख्या बढेको छ भने विकेट संख्या ८२९ बाट घटेर ८१३ मा झरेको छ। बलरहरूको औसत ३१.४२ बाट बढेर ३२.४५ पुगेको छ भने इकोनोमी रेट ९.५० बाट बढेर ९.७६ पुगेको छ ।  जुन आईपीएल इतिहासकै उच्चमध्ये एक हो।

उता आज हुने क्वालिफायर–२ मा गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। विजेता टोली फाइनलमा प्रवेश गर्नेछ भने पराजित टोलीको उपाधि यात्रा समाप्त हुनेछ। राजस्थानका युवा स्टार वैभव सूर्यवंशीले टोलीलाई फाइनल पुर्‍याउन सक्नेछन् वा गुजरातको बलियो बलिङ आक्रमणले बाजी मार्नेछ भन्नेमा क्रिकेट समर्थकहरूको चासो केन्द्रित छ।
 

प्रतिक्रिया