शीर्षकहरू

ओमानलाई ८ विकेटले हराउँदै नेपाल एसियाली छनोटको फाइनलमा

ओमानलाई ८ विकेटले हराउँदै नेपाल एसियाली छनोटको फाइनलमा

 

काठमाडौं। नेपालले सिंगापुरमा जारी एसियाली खेलकुद पुरुष क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ।

सिंगा ओभलमा आइतबार भएको पहिलो सेमिफाइनलमा ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९.२ ओभरमै २ विकेट गुमाएर पूरा गर्‍यो। यससँगै नेपाल उपाधिनजिक पुगेको छ।

नेपालको सहज जितमा लोकेश बमले आक्रामक ब्याटिङ गर्दै २६ बलमा ७ चौका र १ छक्कासहित अविजित ४४ रन बनाए। लगातार दुई खेलमा शतक प्रहार गरेका ओपनर कुशल भुर्तेलले पनि ८ बलमा २० रनको योगदान दिए। उनले ३ चौका र १ छक्का प्रहार गरेका थिए।

कप्तान रोहित पौडेल २० बलमा २१ रन बनाएर अविजित रहे भने आसिफ शेख १ रनमा आउट भए। ओमानका लागि समिर ओथामनले २ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमान १९.४ ओभरमा ९४ रनमै समेटिएको थियो। ओमानका कप्तान सफियान मोहम्मदले ४२ बलमा ३८ रन बनाए पनि अन्य ब्याटरले ठूलो योगदान दिन सकेनन्। जुबिर अली अकबरले २२ र अब्दुल्जाली खानले १६ रन जोडे।

नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै ओमानलाई दबाबमा राखे। करण केसीले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले समान २–२ विकेट हात पारे। कुशल मल्ल, शाहब आलम र कप्तान दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए।

नेपाल र ओमान दुवैले आगामी एसियाली खेलकुदका लागि यसअघि नै स्थान सुरक्षित गरिसकेका छन्।

अब नेपालले उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो सेमिफाइनलमा मलेसिया र हङकङ आमनेसामने छन्। प्रतियोगिताको फाइनल सोमबार हुनेछ।

प्रतिक्रिया