शीर्षकहरू

भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण

भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण

काठमाडौं। भारतको सहयोगमा २०७२ सालको भूकम्पपछिको पुनर्निर्माण कार्यक्रमअन्तर्गत सम्पन्न ७२ स्वास्थ्य संस्था तथा १२ सांस्कृतिक सम्पदा परियोजना ‘भर्चुअल’ रूपमा हस्तान्तरण गरिएका छन् ।

भारतको औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनाललाई शनिबार भारतीय विदेशमन्त्री डा एस जयशङ्करले सो परियोजना हस्तान्तरण गरेका हुन् । त्यसैगरी, उनीहरूले शनिबार नै भारत र नेपालको ‘राष्ट्रिय भुक्तानी प्रणाली इन्टरफेस’बीच सीमा–पार व्यक्तिगत रेमिट्यान्सलाई सहज बनाउनका लागि जोड (लिंकेज) संयुक्त रूपमा शुभारम्भ गरेको विदेशमन्त्री जयशङ्करले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

त्यस्तै दुवै मन्त्रीको समुपस्थितिमा शनिबार नै नयाँ दिल्लीमा डिजिटल इन्डिया भाषिनी र काठमाडौं विश्वविद्यालयबीच ‘भ्वाइस फस्र्ट’ भाषा अनुवाद प्लेटफर्मका लागि राष्ट्रिय डिजिटल पूर्वाधार सहनिर्माण गर्न सम्झौता आदानप्रदान गरिएको थियो।

शनिबार परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा एस जयशंकरबीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको थियो । परराष्ट्रमन्त्री खनाल विदेशमन्त्री जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा यही जेठ २२ देखि २४ गतेसम्म भारतको औपचारिक भ्रमणका लागि शुक्रबार नयाँ दिल्ली प्रस्थान गरेका थिए ।

भ्रमणका क्रममा शुक्रबार परराष्ट्रमन्त्री खनाल र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा विजय चौथाइवालेबीच भेटवार्ता भएको थियो । त्यस्तै परराष्ट्रमन्त्री खनालले शुक्रबार नै नयाँ दिल्लीमा इन्डिया फाउन्डेसनद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गरेका थिए । उनी भ्रमण सम्पन्न गरी यही जेठ २४ गते काठमाडौं फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया