नयाँ दिल्ली । भारत सरकारले दिल्लीदेखि पश्चिम बंगालको सिलिगुडीसम्म बुलेट ट्रेन सञ्चालन गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ। रेलमन्त्री अश्विनी वैष्णवले कोलकाता भ्रमणका क्रममा दिल्ली–सिलिगुडी हाईस्पिड रेल कर्डोर निर्माणको घोषणा गर्दै यस परियोजनाले उत्तर भारत र पूर्वी भारतबीचको यात्रामा क्रान्तिकारी परिवर्तन ल्याउने बताएका छन्।
मुम्बई–अहमदाबाद बुलेट ट्रेन परियोजनापछि प्राथमिकतामा राखिएको यो नयाँ हाईस्पिड रेलमार्गले दिल्ली, उत्तर प्रदेश, बिहार र पश्चिम बंगालका प्रमुख शहरहरूलाई एउटै नेटवर्कमा जोड्नेछ। प्रस्तावित रेलमार्गले नयाँ दिल्ली, लखनऊ, वाराणसी, पटना हुँदै सिलिगुडीसम्म सीधा सेवा दिनेछ।
रेल मन्त्रालयका अनुसार यो परियोजना दुई फरक हाईस्पिड कर्डोरको संयोजन हुनेछ। पहिलो चरणमा निर्माणाधीन दिल्ली–वाराणसी हाईस्पिड रेलमार्ग रहनेछ भने दोस्रो चरणमा वाराणसी–पटना–सिलिगुडी हाईस्पिड कर्डोर विकास गरिनेछ। भारत सरकारले हालैको बजेटमा समेत यस्ता बुलेट ट्रेन परियोजनालाई उच्च प्राथमिकतामा राखेको छ।
यी शहरमा हुनेछन् स्टेशन
प्रस्तावित दिल्ली–सिलिगुडी बुलेट ट्रेनले भारतका महत्वपूर्ण आर्थिक, धार्मिक तथा पर्यटकीय केन्द्रहरूलाई जोड्नेछ। रेलमार्गमा नयाँ दिल्ली, नोएडा (जेवर अन्तर्राष्ट्रिय विमानस्थल), मथुरा, आग्रा, इटावा, लखनऊ, प्रयागराज, वाराणसी, गाजीपुर, पटना तथा सिलिगुडी (न्यू जलपाईगुडी क्षेत्र) मा स्टेशन निर्माण गर्ने योजना छ।
रेल मन्त्रालयले भविष्यमा यही रेलमार्गलाई पूर्वोत्तर भारतको प्रमुख शहर गुवाहाटीसम्म विस्तार गर्ने सम्भावना समेत खुला राखेको छ।
२० घण्टाको यात्रा ६ घण्टामा
हाल दिल्लीदेखि सिलिगुडीसम्म राजधानी एक्सप्रेस, दुरन्तो एक्सप्रेसलगायत रेल सेवाबाट पुग्न करिब १८ देखि २० घण्टा लाग्ने गर्दछ। तर बुलेट ट्रेन सञ्चालनमा आएपछि करिब १,५०० किलोमिटर दूरी केवल ६ घण्टाभित्र पार गर्न सकिने दाबी गरिएको छ।
प्रस्तावित बुलेट ट्रेन प्रतिघण्टा २५० देखि ३०० किलोमिटरको गतिमा सञ्चालन हुनेछ। यसले यात्राको समय मात्र घटाउने होइन, व्यापार, पर्यटन, उद्योग तथा क्षेत्रीय आर्थिक गतिविधिलाई समेत नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
पश्चिम बंगालमा एक लाख करोडको रेल लगानी
रेलमन्त्री वैष्णवले पश्चिम बंगालमा करिब एक लाख करोड भारतीय रुपैयाँ बराबरका रेल परियोजनालाई तीव्रता दिने घोषणा पनि गरेका छन्। उनका अनुसार नयाँ हाईस्पिड रेलमार्गले पूर्वी भारतको आर्थिक विकासलाई थप गति दिनेछ र लाखौं यात्रुलाई आधुनिक तथा द्रुत यातायात सुविधा उपलब्ध गराउनेछ।
दिल्ली–सिलिगुडी बुलेट ट्रेन परियोजना कार्यान्वयनमा आएपछि भारतको हाईस्पिड रेल सञ्जाल उत्तर र पूर्वी क्षेत्रसम्म विस्तार हुने र यसले देशको यातायात पूर्वाधारमा नयाँ अध्याय थप्ने विश्वास गरिएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया