शीर्षकहरू

रास्वपा सरकारको बजेटले नतिजा दिन सक्दैनः वर्षमान

रास्वपा सरकारको बजेटले नतिजा दिन सक्दैनः वर्षमान

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले राष्ट्रिय स्वतन्त्र पार्टीको दुई तिहाइको शक्तिशाली सरकारले मुलुकको आवश्यकताअनुसार आर्थिक वृद्धि र रोजगारी सृजना गर्ने गरी बजेट ल्याउन नसकेको बताएका छन् । 

नेपाल व्यवस्थापन संघद्वारा शुक्रबार राजधानीमा आयोजित आगामी आर्थिक वर्ष २०८३/०८४ को पोष्ट बजेटसम्बन्धी अन्तक्र्रियामा पुनले बजेटले कुनै पनि क्षेत्रमा नजिता दिने गरी ‘फोकस’ गर्न नसकेको बताए । 

लोकप्रियतावादी सरकारले सबैले भन्दै आएको कर्णप्रिय कार्यक्रम समावेश गरेको भए पनि त्यसले आर्थिक समृद्धिको दिशामा ठोस नतिजा दिन नसक्ने टिप्पणी गरे।‘बजेटमा केही चिजमा ‘फोकस’ गरिएको छैन । हामीले नयाँ साथीहरुलाई ‘पपुलिष्ट’ को आरोप लगाउने गरेका छौं ।

‘पपुलिज्म’ को विशेषता के भने सबैले भनेका ‘कर्णप्रिय’ लाग्ने कुरा भन्ने । तर, त्यो पुरा होस् नहोस्’ पुनले भने, ‘सय बुँदे कार्यक्रम बनाउँदा पनि सबै राष्ट्रिय दलको लिएर राख्नुभयो । तर, उहाँहरुको आफ्नो नीति कुन त ? आफ्नो विचार, राजनीति, प्रवृत्ति वा जोड यो कुरामा भन्ने त्यहाँ देखाउन सक्नुभएन । बजेटमा पनि सबै भएको जस्तो देखिने । सबै विगतका पार्टीले थालेका कार्यक्रमको निरन्तरता जस्तो देखिने । तर, केही नभएको जस्तो छ ।’

सरकारले नीति–कार्यक्रम र बजेटमा के मार्फत अर्थिक वृद्धि, देशको रुपान्तरण र रोजगारीका अवसर सृजना गर्न चाहेको हो भन्ने स्पष्ट दिशा लिन नसकेको उनको भनाइ थियो । ‘फोकस केमा गर्न खोजेको हो त ? के मार्फत आर्थिक वृद्धि गर्ने ? के मार्फत रोजगारी सृजना गर्ने, के मार्फत देशको रुपान्तरण गर्न खोजेको ? भन्ने कुरामा प्राथमिकतामै अल्झिएको जस्तो लाग्छ’, पुनले भने, ‘बजेटले हेर्दा, सुन्दा, छाम्दा देखिने तर, रिजल्ट नदेखिने, प्राथमिकता नदेखिनेजस्तो विशेषता बोकेको छ ।’

प्रतिक्रिया