शीर्षकहरू

विश्व खाद्य सुरक्षा दिवस : दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी

विश्व खाद्य सुरक्षा दिवस : दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी

काठमाडौं । विश्व खाद्य सुरक्षा दिवस आइतबार विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ। सुरक्षित र गुणस्तरीय खाद्यवस्तुको महत्वबारे सचेतना फैलाउने उद्देश्यले मनाइने यस वर्षको दिवसले खाद्य सुरक्षा, जनस्वास्थ्य र दिगो विकासबीचको अन्तरसम्बन्धलाई पुनः उजागर गरेको छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार दूषित खाद्यवस्तुका कारण विश्वभर हरेक वर्ष करिब ६० करोड मानिस बिरामी पर्ने गरेका छन्। खाद्यजन्य रोगका कारण वार्षिक करिब चार लाख २० हजार जनाको मृत्यु हुने गरेको छ। तीमध्ये पाँच वर्षमुनिका बालबालिकामात्रै करिब ४० प्रतिशत प्रभावित हुने र हरेक वर्ष एक लाख २५ हजार बालबालिकाको ज्यान जाने गरेको तथ्यांकले देखाएको छ।

संयुक्त राष्ट्रसंघीय महासभाले सन् २०१८ मा जुन ७ लाई विश्व खाद्य सुरक्षा दिवसका रूपमा मनाउने निर्णय गरेपछि सन् २०१९ देखि यो दिवस विश्वभर मनाउन थालिएको हो। दिवसको प्रवर्द्धन तथा समन्वय डब्लुएचओ र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) ले संयुक्त रूपमा गर्दै आएका छन्।

विशेषज्ञहरूका अनुसार पर्याप्त मात्रामा सुरक्षित र पोषणयुक्त खाद्यवस्तुमा पहुँच मानव स्वास्थ्य, जीवन र समग्र कल्याणका लागि आधारभूत आवश्यकता हो। तर दूषित खाना वा पानीमार्फत शरीरमा प्रवेश गर्ने ब्याक्टेरिया, भाइरस, परजीवी तथा रासायनिक पदार्थका कारण विभिन्न रोग फैलिने जोखिम उच्च रहेको छ। यस्ता धेरै जोखिम नाङ्गो आँखाले देख्न नसकिने भएकाले खाद्य सुरक्षाको विषय अझ संवेदनशील बन्दै गएको छ।

डब्लुएचओका अनुसार खाद्यजन्य रोगले विशेषगरी बालबालिका, महिला, आप्रवासी, द्वन्द्व प्रभावित समुदाय तथा अन्य कमजोर वर्गलाई बढी असर गर्ने गरेको छ। खाद्य असुरक्षाले स्वास्थ्यमा मात्र होइन, श्रम उत्पादकत्व, शिक्षा, पर्यटन, व्यापार र आर्थिक विकासमा समेत नकारात्मक प्रभाव पार्ने अध्ययनहरूले देखाएका छन्।

खाद्य सुरक्षा उत्पादनदेखि उपभोगसम्मको सम्पूर्ण खाद्य शृंखलासँग जोडिएको विषय हो। खाद्यवस्तुको उत्पादन, संकलन, प्रशोधन, भण्डारण, ढुवानी, वितरण, तयारी र उपभोगका हरेक चरणमा सुरक्षा मापदण्डको पालना गर्न सके खाद्यजन्य रोगको जोखिम उल्लेखनीय रूपमा घटाउन सकिने विज्ञहरूको भनाइ छ।

यस वर्षको दिवसमा सुरक्षित खाद्यवस्तुको सुनिश्चितताका लागि प्रभावकारी नियमन प्रणाली, स्वच्छ खानेपानीमा पहुँच, असल कृषि अभ्यास, खाद्य सुरक्षा व्यवस्थापन प्रणाली र उपभोक्ता सचेतनामा विशेष जोड दिइएको छ। खाद्य सुरक्षाको जिम्मेवारी सरकार, उत्पादक, व्यवसायी, वैज्ञानिक, नागरिक समाज र उपभोक्ता सबैको साझा दायित्व भएको विज्ञहरूले बताएका छन्।

‘खाद्य सुरक्षा सबैको जिम्मेवारी’ भन्ने सन्देशका साथ मनाइने यस दिवसले सुरक्षित खाद्यवस्तुमा पहुँच सुनिश्चित गर्न सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिएको छ।

प्रतिक्रिया