काठमाडौं । ‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’ भन्ने मूल नारासहित विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ।
हरेक वर्ष जुन ५ मा मनाइने यो दिवस वातावरण संरक्षण, जलवायु परिवर्तनका चुनौती तथा दिगो विकासका विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मनाइन्छ। यस वर्ष नेपालमा दिवस सप्ताहव्यापी कार्यक्रमका साथ मनाइँदै छ।
दिवसका अवसरमा वातावरण विभागले ललितपुरमा विशेष कार्यक्रम आयोजना गरेको छ। मुख्य समारोहमा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ। कार्यक्रममा विभिन्न सरकारी निकाय, विकास साझेदार संस्था, वातावरणविद् तथा सरोकारवालाको सहभागिता रहने विभागले जनाएको छ।
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वातावरण संरक्षण, जलवायु परिवर्तनका असर न्यूनीकरण तथा प्रकृतिमैत्री विकास प्रवर्द्धनसम्बन्धी जनचेतना विस्तार गर्न दिवस विशेष रूपमा मनाउन लागिएको बताए।
विभागका अनुसार दिवसको अवसरमा देशभर वृक्षरोपण, सरसफाइ, जनचेतनामूलक अभियान तथा वातावरण संरक्षणसँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गरिनेछन्।
संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि मनाउन थालिएको विश्व वातावरण दिवस वातावरणीय चुनौतीबारे विश्वव्यापी जागरण फैलाउने प्रमुख अन्तर्राष्ट्रिय अभियानका रूपमा स्थापित हुँदै आएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया