शीर्षकहरू

बजेट निकासापछि गौतमबुद्ध क्रिकेट रङ्गशालाको निर्माण पुनः सुरु

बजेट निकासापछि गौतमबुद्ध क्रिकेट रङ्गशालाको निर्माण पुनः सुरु

चितवन । भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य पुनः सुरु भएको छ। बागमती प्रदेश सरकारबाट बजेट निकासा भएपछि एक महिनादेखि रोकिएको निर्माण कार्य फेरि सञ्चालनमा आएको हो।

निर्माण कम्पनीले सम्पन्न कामको भुक्तानी नपाएको भन्दै निर्माण कार्य रोकेको थियो। बागमती प्रदेश सरकारबाट ९ करोड रुपैयाँ निकासा भएपछि निर्माण कम्पनीले काम पुनः अघि बढाएको भरतपुर महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाका इञ्जिनियर आदर्श पोखरेलका अनुसार प्रदेश सरकारबाट बजेट प्राप्त भएसँगै निर्माण कम्पनीलाई भुक्तानी गरिएको र निर्माण कार्य नियमित रूपमा सञ्चालन हुन थालेको छ।

महानगरपालिकाका डिभिजन इञ्जिनियर सन्तोष आचार्यले निर्माण कम्पनीले पेश गरेको बिलअनुसारको रकम भुक्तानी भइसकेको जानकारी दिए। रङ्गशाला निर्माणको जिम्मा हिमालयन कालिञ्चोक–बीबीआर जेभीले पाएको छ।

निर्माण सम्झौताअनुसार आयोजनाको काम आगामी २०८३ पुस २२ गतेभित्र सम्पन्न गर्नुपर्नेछ। हालसम्म रङ्गशालाको करिब ५५ प्रतिशत निर्माण कार्य पूरा भएको महानगरपालिकाले जनाएको छ।

भरतपुर महानगरपालिका र निर्माण कम्पनीबीच २०८१ असारमा ७५ करोड ५० लाख ९१ हजार १८९ रुपैयाँ लागतमा निर्माण सम्झौता भएको थियो।

यसअघि धुर्मुस–सुन्तली फाउन्डेसनले रङ्गशाला निर्माणको अभियान सुरु गरे पनि आर्थिक अभावका कारण परियोजना अलपत्र परेको थियो। त्यसपछि भरतपुर महानगरपालिकाले बोलपत्र आह्वान गरी नयाँ प्रक्रियामार्फत निर्माण कार्य अघि बढाएको हो।

राष्ट्रिय गौरवसँग जोडिएको मानिएको गौतमबुद्ध क्रिकेट रङ्गशालाको निर्माणले गति लिएसँगै निर्धारित समयमै आयोजना सम्पन्न हुने अपेक्षा गरिएको छ।
 

प्रतिक्रिया