शीर्षकहरू

कास्कीका सामुदायिक विद्यालयमा फुटबल तथा शिक्षा प्रवर्द्धनका लागि मेटलाइफ नेपालको सहयोग

कास्कीका सामुदायिक विद्यालयमा फुटबल तथा शिक्षा प्रवर्द्धनका लागि मेटलाइफ नेपालको सहयोग

कास्की। विश्वभर फुटबलले समुदायलाई एकताबद्ध गरिरहेको सन्दर्भमा मेटलाइफ नेपालले कास्की जिल्लाका सामुदायिक विद्यालयमा खेलकुद र शिक्षाको प्रवर्द्धन गर्ने उद्देश्यसहित नयाँ पहल सुरु गरेको छ।

‘शिक्षा र खेलकुदमार्फत नयाँ पुस्तालाई सशक्त बनाउने’ लक्ष्यसहित सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत मेटलाइफ नेपालले कास्कीका पाँच सामुदायिक विद्यालयमा फुटबल तथा खेल सामग्री वितरण सुरु गरेको हो। कार्यक्रमबाट शहरी तथा ग्रामीण क्षेत्रका विद्यार्थी लाभान्वित हुने अपेक्षा गरिएको छ।

यो कार्यक्रम कर्मयोग फाउन्डेसनसँगको सहकार्यमा सञ्चालन भइरहेको छ। फाउन्डेसनले पहुँचबाट वञ्चित बालबालिका तथा युवायुवतीलाई शिक्षा र खेलकुदका अवसर उपलब्ध गराउँदै आएको छ।

कार्यक्रमअन्तर्गत करिब १४० वटा फुटबलका साथै प्रशिक्षणका लागि आवश्यक कोन, गोलपोस्ट नेट, एयर पम्प तथा अन्य आधारभूत खेल सामग्री उपलब्ध गराइनेछ। साथै छनोट भएका विद्यार्थीलाई जर्सीसमेत प्रदान गरिने जनाइएको छ। यसले विद्यालयमा व्यवस्थित खेल गतिविधिलाई प्रोत्साहन गर्नुका साथै सामुदायिक शिक्षामा खेल संस्कृतिको विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

मेटलाइफ नेपालको यो पहल कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको हो। विद्यालय केन्द्रित यस कार्यक्रममार्फत विद्यार्थीलाई कक्षाकोठाको शिक्षासँगै खेलकुदबाट सिकिने टोली भावना, अनुशासन, नेतृत्व क्षमता, आत्मविश्वास र आपसी सम्मानजस्ता मूल्य विकास गर्न सक्ने वातावरण निर्माण गर्ने लक्ष्य राखिएको छ।

कार्यक्रमबारे मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले सामुदायिक विद्यालयका विद्यार्थीका लागि खेलकुदले एकताबद्धता र आत्मविश्वास विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले विश्वभर फुटबलप्रतिको आकर्षण बढिरहेका बेला खेलमार्फत विद्यार्थीमा आत्मविश्वास, सिकाइप्रतिको रुचि तथा चुनौती सामना गर्ने क्षमता विकास गर्न विद्यालयलाई सहयोग गर्ने निर्णय गरिएको उल्लेख गरे।

उनका अनुसार शिक्षा र खेलकुदलाई सँगसँगै अघि बढाएर बालबालिकाको समग्र विकासमा योगदान पुर्‍याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।
 

प्रतिक्रिया